सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

कोरोना सङ्क्रमण ‘बढ्दै, घट्दै’, एक महिनापछि जिल्लाभिको मृत्युदर शुन्य

पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । जिल्ला बाहिरका भने ८ जनाको मृत्यु भएको छ ।

बाँके । भेरी अस्पताल नेपालगन्जमा केही दिन अघिसम्म उपचारका लागि आउने कोभिडका बिरामीका लागि शैय्या पाउन मुस्किल भएकोमा अहिले केही सहज छ । अस्पतालमा बिरामीको सङ्ख्या कम भए पनि विगतभन्दा अहिले धेरै सङ्क्रमितको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ ।

भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.प्रकाश थापाले पछिल्लो समय बाँकेभन्दा बाहिरी जिल्लाबाट धेरै बिरामी उपचारका लागि आउने गरेको जानकारी दिए । वैशाख तेस्रो साता भेरीमा दैनिक ३०० भन्दा बढी कोभिडका बिरामीको उपचार गरिएकोमा हाल २०० को हाराहारीमा बिरामी उपचाररत रहेका छन् ।

भेरी अस्पतालको प्रयोगशालाको तथ्याङ्कअनुसार बाँकेमा पछिल्ला तीन दिनमा सङ्क्रमण दर ८० बाट घटेर ४३ प्रतिशतमा झरेको छ । बर्दियामा भने १५ बाट बढेर ५० प्रतिशतसम्म पुगेको छ । डा.थापाका अनुसार बाहिरी जिल्लाबाट अधिकांश बिरामी गम्भीर अवस्थामा रिफर भई आउने गरेका छन् भने कतिपयको बाटोमै निधन हुने गरेको छ ।

अस्पतालको आइसीयू वार्ड भने बिरामीले भरिभराउ छ । पछिल्लो समय बर्दियाबाट धेरैजसो गम्भीर प्रकृतिका बिरामी उपचारका लागि आउने गरेको तथ्याङ्क छ । अस्पतालसँगै नेपालगन्ज उपमहानगरपालिकाले सञ्चालन गरिरहेको आइसोलेसनमा पनि बिरामीको चाप कम छ । ५० शैय्याको आइसोलेसनमा पाँचजना मात्रै उपचाररत रहेको डा.थापाले बताए ।

पछिल्लो समय बाँकेमा कोभिडको सङ्क्रमण दर भने कम भएको अस्पतालले जनाएको छ । तर, गम्भीर अवस्थामा अस्पताल पुग्ने गरेका कारण हिजोसम्म उच्च रहेको मृत्युदर पनि पछिल्लो २४ घण्टामा जिल्लाभित्रका कसैको पनि मृत्यु नभएको जिल्ला कोभिड-१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका फोकल पर्सन तेज वलीले जनाएका छन् ।

पछिल्लो समय बाँकेमा नयाँ सङ्क्रमण दरभन्दा कोभिड निको भई डिस्चार्ज हुनेको सङ्ख्या बढी हुने गरेको छ । बाँकेमा आज १४४ जना कोरोना संक्रमित थपिएका छन् । जुन जम्मा परिक्षणको २९.२ प्रतिशत हो । आज ४५२ जना डिस्चार्ज हुँदा पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन । जिल्ला बाहिरका भने ८ जनाको मृत्यु भएको छ ।

यहाँका तीन वटा प्रयोगशालामा गरिएको परिक्षणमा बाहिरी जिल्लाका समेत गरी ३९० जनामा कोरोना पुष्टि भएको छ । भेरी अस्पतालमा २६५, नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा ३६ जना र बागेश्वरी ल्याबमा गरिएको परिक्षणमा जिल्ला र जिल्ला बाहिरका ८९ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म बाँकेमा १६ हजार ५०९ जना संक्रमित भएका छन् । तीमध्ये १४ हजार ६७९ जना निको भई डिष्चार्ज भएका छन् ।

संक्रमितमध्ये २७३ जनाको मृत्यु भएको छ । आज जमुनाहा नाकामा १६०४ जनाको जाँच गरिएकोमा शंकास्पद ६६ जनाको एन्टिजेन परिक्षण गर्दा संक्रमण शून्य रहेको फोकल पर्सन ओलीले जानकारी दिए । जिल्लामा १ हजार ५५७ जना आइसोलेसनमा रहेका छन् । तीमध्ये ३९४ जना कोभिड अस्पतालको आइसोलेसनमा रहेका छन् भने १ हजार २८४ जना होम आइसोलेसनमा रहेको पनि फोकल पर्सन ओलीले जानकारी दिएका छन् ।

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतवार १७:३६