बझाङ । बझाङको साईपाल गाउँपलिकाका यार्सा संकलन क्षेत्रमा प्रवेश भएका संकलकहरुलाई निशुल्क स्वास्थ्य सेवा तथा औषधी वितरण गरिएको छ ।
साईपाल गाउँपालिकाको स्वास्थ्य शाखाले यार्सा संकलन क्षेत्र राईढुंगी, माँझा, औलागाड लगाएतका ठाउँहरुमा रहेका यार्सा संकलक, अस्थायी होटल व्यवसायी तथा भेडाबाख्रा व्यवसायीहरुलाई निःशुल्क स्वास्थ्य उपचार तथा औषधी वितरण गरिएको काँडा स्वास्थ्य चौकीका अहेव लोकेन्द्र जेठाराले बताउनु भयो ।
उहाँले भन्नुभयो “यार्सा संकलन क्षेत्रमा चिसोका कारण ज्वरो आउने, रुगाखोकी लाग्ने, लेक लाग्ने, लेक लाग्ने, ग्याष्ट्रिक हुने, हाडजोर्नी दुख्ने जस्ता समस्या भएका विरामीहरु देखिएका छन ।
गाउँपालिकाबाट खटिगएको स्वास्थ्यकर्मीको टोलीले स्वास्थ्य समस्या देखिएका बिरामीहरुका लागी निःशुल्क औषधी तथा स्वास्थ्य परामर्श सेवा दिएका छौ । ”
स्वास्थ्यकर्मीको टोलीले यार्सा संकलन क्षेत्रमा रहेका प्रत्येक पालमा गएर स्वास्थ्य उपचारका साथै निशुल्क औषधी समेत वितरण गरेको छ । गाउँपालिकाले निशुल्क स्वास्थ्य परामर्श तथा औषधी वितरण गर्न स्वास्थ्यकर्मीहरुको टोली खटाएर राम्रो काम गरेको मष्टा गाउँपालिका बाट यार्सा संकलन गर्न औलागाड पुगेका यार्सा संकलक खगेन्द्र बोहोराले बताउनु भयो ।
उहाँले भन्नुभयो “दिनानुदिन हिमपात भइरहेको छ । यार्सा संकलन क्षेत्रमा फोहोर पानी खानुपर्ने बाध्यता छ । कहिलै काँही त खाना पनि राम्ररी नपाकेरै खान्छौ ।
कहिलै हप्ता दिन सम्म पखाला चलेर पालमै बस्नुपर्ने बाध्यता हुन्छ । गाउँपालिकाले निःशुल्क स्वास्थ्य जाँच तथा औषधी वितरण गरेर आफुहरुलाई ठुलो राहात भएको छ ।”
साईपालको दोदलेमा भेडाबाख्रा चराउदै आएकी विस्ना थापाले आफ्नो खुट्टा दुखेको र त्यस्को उपचार तथा मलमको लागी स्वास्थ्य चौकी तथा सदरमुकाम धाउनु पर्ने अवस्था थियो ।
औषधीसहित डाक्टर लेकको पालमै आउँदा भगवान आएको अनुभूती भएको बताउनु भएको छ । हिमाली क्षेत्रमा यार्सा संकलन तथा अन्य व्यवसायी गर्ने मध्ये ७ जनाको हाडजोर्नी दुख्ने, ११ जनाको टाउँको दुख्ने, र अरु सामान्य ज्वरो आएका बिरामी गरी जम्मा १५० पालमा स्वास्थ्य परामर्श तथा निशुल्क औषधी वितरण गरेको साईपाल गाउँपालिकाका अध्यक्ष राजेन्द्र बहादुर धामीले बताउनु भयो ।
।