सूचनाको शक्ति - The Power Of Information

        

कोरोना संक्रमित पूर्वराज्यमन्त्री घिमिरेको निधन

काठमाडौं । कोरोना भाइरस संक्रमित पूर्वराज्यमन्त्री राधाप्रसाद घिमिरेको शनिबार राति निधन भएको छ।

विराटनगर महानगरपालिका–२ घर भएका ९१ वर्षीय घिमिरेको उपचारका लागि नोबेल शिक्षण अस्पताल लैजाने क्रममा राति करिब ९ बजे निधन भएको नागरिक अगुवा रामबाबु दाहालले जानकारी दिए।

उनका अनुसार घिमिरेलाई केही दिनअघिबाट श्वास फेर्न गाह्रो हुुने समस्या देखिएको थियो।  पीसीआर परीक्षण गराउँदा शनिबारसाँझ रिपोर्ट पोजेटिभ आएको दाहालले बताए।

रिपोर्ट पोजेटिभ आउनुका साथै स्वास्थ्यमा समस्या थपिँदै गएपछि उपचारका लागि लगिए पनि अस्पताल पुर्‍याउन नपाउँदै निधन भएको उनको भनाइ छ।

उनका अनुसार घिमिरेले पञ्चायत कालमा नौवटा मन्त्रालयमा राज्यमन्त्रीको जिम्मेवारी सम्हालेका थिए। २०३२ सालमा तत्कालीन राजा वीरेन्द्र शाहले उनलाई पहिलो पटक सूचना तथा सञ्चार राज्यमन्त्री बनाएको दाहालले बताए।

त्यसपछि अढाई वर्षको अवधिमा सूचना तथा सञ्चार, सामान्य प्रशासन, उद्योगसमेतका नौवटा मन्त्रालयमा क्याविनेटस्तरको राज्यमन्त्रीको जिम्मेवारीमा घिमिरे रहेको दाहालको भनाइ छ।

जानकारहरुका अनुसार घिमिरे २०१७ सालसम्म कम्युनिष्ट पार्टीमा आवद्ध थिए। कम्युनिष्ट पार्टीको केन्द्रीय सदस्य रहेका घिमिरेले नै मोहनविक्रम सिंहलाई पार्टी सदस्यता प्रदान गरेको दाहालले बताए।

उनका अनुसार पञ्चायती व्यवस्था सुरु भएपछि कम्युनष्टि पार्टी परित्याग गर्दै घिमिरे पञ्चायतमा प्रवेश गरेका हुन्।  बुढ्यौली उमेरसँगै राजनैतिक जीवनबाट उनी निस्कृय थिए।

पछिल्लो समय कुनै राजनैतिक दलको सदस्य थिएनन्। तर सामाजिक र बौद्धिक क्षेत्रमा उनको सक्रियता कायमै थियो।

प्रकाशित मिति : ९ जेष्ठ २०७८, आइतवार ०८:५०