सूचनाको शक्ति - The Power Of Information

        

कोपा अमेरिका कपका सबै खेल अर्जेन्टिनामा मात्र हुने

एजेन्सी । यस सिजनको कोपा अमेरिका कपका सबै खेल अर्जेन्टिनामा मात्रै हुने भएको छ ।

प्रतियोगिता सुरु हुने दिन नजिकिदै गर्दा सहआयोजक राष्ट्र कोलम्वियामा राजनीतिक अशान्तिपछि दक्षिण अमेरिकी फुटबल फेडेरेसनले कोपा अमेरिका कप अर्जेन्टिनामा मात्रै गराउने निर्णय गरेको हो ।

यसअघि फेडेरेसनले अर्जेन्टिना र कोलम्वियामा गराउने निर्णय गरेको थियो । दुवै देशमा गराउने भएपनि कोलम्वियामा बढ्दो अशान्तिपछि फेडेरेसनले एक सातासम्म त्यहाँको अवस्थाबारे बुझेको थियो ।

१०५ वर्षको इतिहासमा कोपा अमेरिका पहिलो पटक दुई देशमा आयोजना गर्ने बताइएको थियो । तर कोलम्बियामा जारी आन्दोलनकाकारण प्रतियोगिता अर्जेन्टिनामा मात्र गर्नुपरेको आयोजकले जनाएको छ ।

कोपा अमेरिका जुन १३ बाट १० जुलाईसम्म हुनेछ । १५ खेल कोलम्बिया गर्ने तालिका थियो । जसमा फाइनल कोलम्बियामा नै हुने तालिका थियो । अर्जेन्टिनामा १३ खेल खेलाउने तालिका थियो ।

प्रतियोगितामा १२ टोलीको सहभागिता रहने भनिएपनि अष्ट्रेलिया र कतारले सहभागिता नहुने भएको छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा अर्जेन्टिना, बोलिभिया, उरुग्वे, चिली र पाराग्वे रहेका छन् । समूह ‘बी’ मा कोलम्विया, ब्राजिल, भेनेजुएला, इक्वेडर र पेरु रहेका छन् । दुवै समूहका शीर्ष चार टोलीले क्वाटरफाइनलको यात्रा तय गर्नेछ ।

प्रकाशित मिति : ८ जेष्ठ २०७८, शनिबार ०७:५९