सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

भेरी अस्पतालमा कोभिडका बिरामी र कुरुवालाई २० रुपैयाँमै पेटभरी खाना

बाँके । नेपालगन्जस्थित भेरी अस्पतालमा उपचारका लागि आएका कोरोना सङ्क्रमित बिरामी र कुरुवालाई २० रुपैयाँमै खाना उपलब्ध भएपछि राहत मिलेको छ । अस्पताल परिसरमै प्रतिछाक २० रुपैयाँमा खाना उपलब्ध भएपछि बिरामी कुरुवालाई होटल खोज्दै हिँड्नुपर्ने समस्याको अन्त्य भएको छ ।

अस्पतालमा उपचारका लागि आउने बिरामी र कुरुवाका लागि श्री सुन्दरकाण्ड मित्र मण्डलले अञ्जनी माता रसोइका नामबाट साँझ–बिहान दुवै छाक खाना खुवाउन शुरु गरेको हो । बिहानको छाकमात्रै २० रुपैयाँमा खाना खुवाउँदै आएकामा निषेधाज्ञाका कारण अस्पताल परिसरका होटल बन्द भएकाले अस्पतालमा आउने बिरामी तथा कुरुवालाई साँझको पनि खाना खुवाउन शुरु गरिएको सुन्दरकाण्ड मित्र मण्डलका संरक्षक विजय गुप्ताले बताए ।

नेपालगन्ज उपमहानगरपालिकाले मासिक ५० हजार रुपैयाँ सहयोग गर्न थालेपछि रसोइले गत कात्तिकदेखि भेरी अस्पतालमा बिरामी र कुरुवाका लागि लक्ष्य गरेर २० रुपैयाँमा बिहानको खाना खुवाउन शुरु गरेको थियोे । पछिल्लो समय कोभिड–१९ को सङ्क्रमण फेरि बढ्न थालेपछि बेलुकाको खानासमेत खुवाउन थालिएको होे । अञ्जनी माता रसोइको अनुरोधपछि नेपालगन्ज उपमहानगरले पछिल्लो समय मासिक एक लाख रुपैयाँ उपलब्ध गराउन थालेको छ ।

उपमहानगरपालिकाले सहयोग बढाएको र अन्य सहयोगी मनहरूबाट पनि सहयोग उपलब्ध हुन थालेपछि रसोइमा यही मङ्गलबारदेखि बेलुकाको खानासमेत २० रुपैयाँमा उपलब्ध गराउन थालिएको छ । यसअघि बिहानको खाना २० रुपैयाँ र बेलुकाको खाना ८० रुपैयाँ प्रतिछाक रहेको थियो । कोभिड–१९ का बिरामीको उपचार केन्द्र बनेको भेरी अस्पतालमा पश्चिम नेपालका विभिन्न जिल्लाबाट दैनिक सयौँ व्यक्ति उपचारका लागि आउने गरेका छन् ।

अस्पतालमा कार्यरत चिकित्सक र स्वास्थ्यकर्मीले पनि यही रसोइमा खाना खाने गरेका छन् । खाना खान आउनेको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ । दैनिक ४०० जनालाई खाना खुवाउन सक्ने गरी व्यवस्थापन मिलाइएको छ । खानामा दाल, भात, तरकारी दिने गरिएको छ । बिरामीका लागि बोतलको पानी उपलब्ध गराउने गरिएको छ । सस्तोमा स्तरीय खानासँगै सरसफाइमा समेत विशेष ध्यान दिइएको व्यवस्थापक जितेन्द्रबहादुर सिंहले बताए ।

अस्पतालमा उपचारका लागि आएका बिरामी र कुरुवालाई २० रुपैयाँमा राम्रो खाना खुवाउनु सामाजिक कार्य भएको भन्दै यसमा स्थानीय सरकारबाट सक्दो सहयोग गरिएको नेपालगन्ज उपमहानगरपालिका प्रमुख डा.धवलशम्शेर राणाले बताए । अभियानमा उपमहानगरपालिकासहित विभिन्न मनकारी सङ्घसंस्था र व्यक्तिले नगद तथा खाद्यान्न सहयोग गर्दै आएको मित्र मण्डलका प्रवक्ता विमल चन्दले जानकारी दिए ।

प्रवक्ता चन्दका अनुसार भेरी अस्पतालमा बिरामी र कुरुवाका लागि विहान बेलुका खानाको व्यवस्थापन गरिरहेको अञ्जनी माता रसोई श्री सुन्दरकाण्ड मित्र मण्डललाई सहपाठी क्लब महेन्द्र बहुमुखी क्याम्पस नेपालगन्ज (२०५७–२०५९ ब्याच)ले बिहीबार एक लाख एक हजार एकाउन्न रूपैयाँ हस्तान्तरण गरेको छ । यसका साथै श्री सुण्दरकाण्ड मित्र मण्डल परिवारलाई विभिन्न क्षेत्रबाट सहयोग प्राप्त भइरहेको छ ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार ०९:०३