सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

कोरोनाले अस्ताउँदै फक्रिँदै गरेका जिन्दगी

कतै गर्भवतीको निधन, कतै विवाहको १५ दिनमै मृत्यु

बर्दिया । कोरोना महामारी सुरु भएयता कसैको मनमा शान्ति छैन । शारीरिक, मानसिक रूपमा सबै उथलपुथल बनाइदिएको छ । मानिसको दैनिकी फेरिएको छ । घरभित्रै बस्नुपर्दा धेरै मानिस मानसिक समस्यामा पनि परेका छन् ।

कोरोना माहामारीमा कसैले परिवारका सदस्य गुमाइरहेका छन्, त कसैले छिमेकी तथा आफन्त गुमाइरहेका छन् । छोराछोरी गुमाउँदा बाबुआमा समस्यामा छन् भने बाबुआमा गुमाउँदा छोराछोरीको विचल्ली भएका धेरै घटनाहरु छन् ।

गर्भवतीको मृत्यु

यस्तै, कहाली लाग्दा थुप्रै घटना बर्दियामा पनि घटिरहेका छन् । कोरोनाका कारण जेष्ठ १ गते बर्दियाकी एक गर्भवती महिलाको ज्यान गयो । बर्दियाको ठाकुरबाबा नगरपालिका वडा नम्बर १ घर भएकी ३४ वर्षकी महिलाले कोरोनाका कारण ज्यान गुमाउनुपर्यो । उनमा वैशाख २२ गते पसिआर परीक्षणका क्रममा रिपोर्ट पोजेटिभ आएको थियो ।

दुई दिन अस्थायी कोभिड अस्पतालमा उपचार गराएपछि अवस्था गम्भीर बन्दा उनलाई वैशाख २४ गते भेरी अस्पताल नेपालगञ्ज भर्ना गरियो । उनको जेष्ठ १ गते बिहान झण्डै ३ बजेतिर उपचारकै क्रममा ज्यान गएको बर्दियाका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए । उनलाई जति प्रयास गर्दा पनि बचाउन सकिएन । उनका श्रीमान शिक्षक हुन् । उनका ८ वर्ष र दुई वर्षका दुई छोरी छन् ।

गर्भमा हुर्किंदै गरेको सन्तानसँगै आफ्ना साना कलिला छोरीहरुलाई छोडेर उनी यो संसारबाट अस्ताउनुपर्यो । यो घटनाले बर्दियामा केहीदिन निकै कोलाहल छायो । उनका श्रीमानले आफ्नी सानी छोरीलाई नानी मैलै तिम्री आमालाई बचाउन सकिनँभन्दा उनको अन्तिम संस्कारमा पुगेका कसैले आँशु लुकाउन सकेनन् । श्रदाञ्जली दिन पुगेका मेयर पनि केही बोल्न नसकी फर्किए ।

विवाहको १५ दिनमै मृत्यु

यस्तै, कहालीलाग्दो अर्को घटना त्यसको १ दिनलगत्तै घट्यो । जेष्ठ २ गते बर्दियाको ठाकुरबाबा ९ का अर्का २५ वर्षीय पुरुषले कोरोनाकै कारण ज्यान गुमाए । नेपालगन्जको भेरी अस्पतालमा उपचारकै क्रममा उनको ज्यान गएको थियो । ठाकुरबाबा नगरपालिकामा व्यवसाय गर्दै आएका युवाले वैशाख १८ गते विवाह गरे । विवाहको १५ दिनमै उनले संसार छोड्नुपर्यो ।

बैशाख १८ गते भौतिक दूरी कायम गर्दै थोरै आफन्तको उपस्थितिमा परिवारले ठाकुरबाबाकै एक युवतीसँग उनको विवाह गराइदिएका थिए । संसार सजाउने सपना सजाउँदै गरेका नवदम्पतीमध्येमा श्रीमानलाई दैवले खोसेपछि अहिले परिवारमा कहालीलाग्दो पीडा थपिएको छ । श्रीमानलाई अस्पताल पठाएकी श्रीमती घरमा अझै श्रीमान कुरेर बस्छिन् ।

उनलाई लाग्दो हो, श्रीमान् कहिले फर्केर आउँछन् भन्ने । तर उनका श्रीमानले सदाका लागि यो संसार छोडेर यो धर्तीबाट आकाशबाट अस्ताइसकेका छन् । यो घटनाले दुई परिवारमा मात्रै होइन सिंगो ठाकुरबाबा र बर्दियाभरीलाई नै शोकमा डुबाइदियो । यति कलिलै उमेरमा ज्यान गुमाएका उनी त यो संसारबाट बिदा भए नै सँगसँगै परिवारको खुसी पनि खोसिएको छ ।

पेटको सन्तानलाई संसार देखाउन पाइनन्

यी दुई घटना सेलाउन नपाउँदै बर्दियाबासीले अर्को कहालीलाग्दो घटनाको सामना गर्नुप¥यो । बर्दियाकै ठाकुरबाबा नगरपालिकामा मेडिकल सञ्चालन गर्दै आएका मेडिकल सञ्चालककी श्रीमतीले पनि कोरोनाकै कारण ज्यान गुमाउनुपर्यो । उनको जेष्ठ ५ गते बिहान १ बजे नेपालगन्जमै उपचारका क्रममा ज्यान गयो । उनी पनि गर्भवती थिइन् ।

आफ्नो कोखका हुर्किंदै गरेको सन्तानलाई संसार देखाउन नपाइकनै उनी यो संसारबाट अस्ताइन् । उनका एक पूर्ण अपांग छोरा र सानी कलिली छोरी छन् । उनका श्रीमानले धेरै स्थानीयको ज्यान बचाए । तर, अहिले आफ्नै श्रीमती गुमाउनुपर्दा उनलाई ठूलो पीडा परेको छ । सधैँ मुस्कुराइरहने सबैको मन मुटुमा बस्न सफल भएका उनको मुहारको मुस्कान खोसिएको छ ।

उनी भन्छन्, ‘आफूलाई जस्तो पीडा अरू कसैलाई भोग्न नपरोस् ।‘ कोरोना महामारीले देश काक्रान्त भइरहेका बेला स्थानीयलाई स्वास्थ्य सेवा प्रदान गरेर जोखिमबाट बचाउनु त छ नै, अब ती कलिला सन्तानलाई हुर्काउने जिम्मेवारी पनि उनकै काँधमा आइपुगेको छ । यो घटनाले उनी र उनको परिवारलाई मात्रै होइन पूरै बर्दियाबासीलाई रुवायो । सिंगो ठाकुरबाबा नगरपालिका निःशब्द भयो ।

फूलजस्तै फक्रिन लागेका जिन्दगी अस्ताउँदै

यी त केही प्रतिनिधिमूलक घटना मात्रै हुन जिल्लाभरी हेर्ने हो भने भर्खरै फूलजस्तै फर्किन लागेका थुप्रै जिन्दगीहरू कोरोनाले अकालमै अस्ताउने गरेका छन् । साना कलिला नानीहरूलाई सुन्दर संसार देखाउने सपना बोकेका आमाहरु, भर्खरै विवाह बन्धनमा बाँधिएमा मनहरु सबैसबै कोरोनाले चुँडिदिने गरेको छ । परिवारका खुसी, आशा अपेक्षा सबै तहसनहस हुने गरेका छन् ।

अस्पताल गएर नयाँ जिन्दगी लिएर आउनेहरु पनि छन् भने कतिपय अस्पताल पुगेर कहिल्यै नफर्किने गरी सदाका लागि अस्ताउने गरेका छन् । दैनिक यति धेरै संख्यामा ज्यान गुमाइरहेको देख्दा यो दृश्य कुनै ठूलो युद्धको भन्दा कम देखिँदैन । अहिले विषेगरी युवा वर्गहरुले बढी ज्यान गुमाइरहेका छन् । धरैले त अस्पतालमा बेड नपाएरै ज्यान गुमाउँछन् । मृत्यु अंगालेकाले जीवन गुमाउँछन् भने परिवारले खुसी गुमाउँछन् ।

बर्दियाका जटिल प्रकृतिका बिरामीको उपचारका लागि नेपालगन्ज नै पुग्नुपर्छ । गाउँमै सामान्य रुघाखोकी त हो नि भनेर औषधि सेवन गर्ने अनि ढिलो गरी अस्पताल पुग्ने र अस्पतालमा पनि समयमै बेड नपाउने, अनि बेड पाए पनि, अक्सिजन अभाव हुने लगायतका समस्याले स्थानीयले अकालमै ज्यान गुमाउनुपरेको स्वास्थ्यकर्मीहरू बताउँछन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार ०८:४२