सूचनाको शक्ति - The Power Of Information

        

कोरोना प्रभावितलाई निशुल्क खाना

बझाङ । बझाङका जीवनबहादुर सिंहले कोरोना प्रभावित तथा तीनका कुरुवालाई निःशुल्क खाना वितरण अभियान सुरु गरेका छन् । जिल्लामा रहेका युवा व्यवसायी जीवनबहादुर सिंहले निशुल्क खाना वितरण अभियान सञ्चालन गरेका हुन् । सिंहले शुक्रबारदेखि जिल्ला अस्पताल सिमखेतमा रहेका कोरोना प्रभावित तथा कुरुवालाई निशुल्क खाना वितरण सुरु गरिरहेका छन् ।

अस्पतालमा कोरोनाको परिक्षण सुरु भएदेखि नै उपचार गराउन आउने बिरामी तथा उनका कुरुवाको बिजोग नै बन्दै गएको थियो । लकडाउनका कारण सम्पूर्ण खाना खाने होटल बन्द हुँदा प्रभावित भएका थिए । खाना खाने होटल, बन्द हुँदा र लकडाउनका कारण प्रहरीले समेत हिँड्न नदिएकाले सिंहले खानाको व्यवस्थापन गर्दै आएका छन् ।

‘खाना खाने होटल, बन्द हुँदा र लकडाउनको समयमा प्रहरीले हिँड्न समेत दिएको छैन,’ एक जना कुरुवाले भने, ‘उहाँले हामीलाई खानाको व्यवस्थापन गरी गरेको सह्रानीय कार्यलाई हामीले कहिले बिर्सन सक्दैनौँ ।’ निशुल्क खाना वितरण अभियानका युवा व्यवसायी सिंहले दैनिक ५० देखि ७० जनाको हाराहारीमा खाना खुवाउने गरेको बताए ।

‘बन्दाबाहेक सबै तरकारीको मुल्य आकासियो । सरोकारवालाहरु मौन बसेका छन् । बजार अनुगमन नहुँदा मारमा परेका छौं । हाम्रो अभियानमा देश विदेशबाट धेरै जना जोडियर सहयोग गर्नुभएको छ । आर्थिक, खाद्यान्न, ग्याँस सिलिन्डर सहयोग गरिराख्नु भएको छ,’ उनले भने । औषधि, खाना वा अन्य कुनै पनि प्रकारको सेवा लिनुपरेमा ९८४८६०७६४७, ९८६४५९५९९४, ९८६८४०६६२० र ९८४८७५५२८८ मा फोन सम्पर्क गर्न पनि सिंहले अनुरोध गरेका छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०७८, शुक्रबार ०८:१७