सूचनाको शक्ति - The Power Of Information

        

बझाङका हिमाली पाटनमा यार्सा संकलकको संख्या न्यून

बझाङ । बझाङका हिमाली पाटनहरुमा यार्सा गुम्बा संकलकको संख्या घटेको छ । साइपाल गाउँपालिकामा पर्ने माझाँ, राइढुङ्गी, औलागाड लगायत दर्जनौँ पाटनहरुमा संकलकहरु तँछाडमँछाड गर्दै हरेक दिन बिहानदेखि साँझसम्म दौडिरहने समयमा यस बर्ष भने कमी भएको छ ।

साइपाल गाउँपालिकाका स्थानीयको आम्दानीको स्रोत र जागिर यार्सागुम्बा नै भएकाले बालबालिका पढाउने र बढाउने सबै यार्साबाट कमाउने भन्दै जिल्ला बाहिर र भित्रबाट तीन–चार दिन हिँडेर यार्सा संकलन क्षेत्रमा पुग्ने संकलकको संख्या कोरोना माहामारी र मौसम परिवर्तनका कारण कम भएको यार्सा संकलक तन्जन लामाले बताए ।

उनले भने, ‘पहिला यार्सागुम्बा संकलनका लागि साना बालबालिकासमेत विद्यालय छोडेर हिमाली पाटनमा पुगे पनि पहिलेको तुलनामा यस बर्ष भने कम संख्यामा आएका छन् । पहिलेको तुलनामा यार्सा पनी कम पाइने गरेको छ । यार्सा पनि घटेको छ । कहिलेकाहिँ त दिनभर खोजेर एउटा मात्रै पाइन्छ ।’

धेरैजसो मानिसहरु अहिले ढिलो हिमपात भएकाले आएर पनि यार्सा टिप्न नपाएकाहरु घर फर्किसकेका छन् । पहिलेका बर्षहरुमा यार्सा टिप्नकै लागि मानिसहरु घरगोठ बन्द गरेर बैशाख महिनादेखि नै पाटन पुगेका हुन्थे । गाउँपालिकाको औलागाड, राइढुङ्गी, माझाँ, श्याम वन, चाल्ना वन, लगायतका दर्जनौ स्थानमा हजारौं मानिस पुगेका हुन्थे, पालहरु हाल्ने ठाउँ पुग्दैन्थ्यो, पालले पाटन भरिन्थ्यो ।

पोहोर साल कोरोनाका कारण यार्सा संकलनमा गाउँपालिकाले रोक लगायो । यस बर्ष पनि अलमलमा परेर नआएको यार्सा संकलक पानकला गुरुङले बताइन् । साइपाल गाउँपालिका अध्यक्ष राजेन्द्रबहादुर धामीका अनुसार यस बर्ष जेठ ५ गते बुधबारसम्म गाउँपालिकाको यार्सा संकलन क्षेत्रमा यस बर्ष ४६४ जनामात्रै प्रवेश गरेका छन् ।

गाउँपालिकाका अनुसार सुर्मा गाउँपालिकाका १३४ जना, तलकोटका ६० जना, मष्टाका ८० जना, साइपालका १८७ जना र जयपृथ्वी नगरपालिकाका ३ जनाले प्रवेश गरेका छन् । विगतका बर्षहरुमा झण्डै पाँच हजारको हाराहारीमा संकलकहरु यार्सा टिप्न आउने गरेको भए पनि यस बर्ष न्यून संख्यामा आएको अध्यक्ष धामीले बताए ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहीबार १५:३७