बझाङ । बझाङको साइपाल गाउँपालिकाले यार्सा संकलन क्षेत्रको फोहर व्यवस्थापन अभियान सञ्चालन गरेको छ । साइपाल गाउँपालिकाको आयोजना तथा साहारा नेपालको सहकार्यमा बझाङको हिमाली क्षेत्रको जैविक विविधतालाई संरक्षण गर्न सरसफाई अभियान सञ्चालन गरिएको हो ।
साइपाल गाउँपालिकाभित्र पर्ने संकलन क्षेत्र औलागाड, राइढुङ्गी, माझा वन क्षेत्रमा फालिएका पुराना लुगाकपडा, जुत्ता, प्लास्टिक सिसाहरु लगायत अन्य यार्सा संकलनकर्ताहरुले फालेको फोहरलाई खाल्डो खनेर विर्सजन गरिएको छ । गाउँपालिका अध्यक्ष राजेन्द्रबहादुर धामीको नेतृत्वमा खटिएको टोलीले यार्सा संकलन क्षेत्रमा अस्थाई शौचालय पनि निर्माण गरेको छ ।
यार्सा संकलन क्षेत्रमा फोहरका कारण यार्सा उत्पादन दिन प्रतिदिन घट्दै गएको यार्सा संकलक ज्योती फडेराले बताए । उनले भने, ‘पहिला एकै दिनमा १०० देखि १५० वटासम्म यार्सा पाउथ्यौं । अहिले एक महिनाभरी खोजे पनि त्यति यार्सा पाइँदैन ।’ यार्सामात्र होइन यार्सा संकलन क्षेत्रमा दाउराको पनि उतिकै अभाव छ ।
होटलबाट निस्कने सिसाका बोतल र कुहिने तथा नकुहिने फोहोर थुपिँ्रदै गयो । यार्सा संकलक फडेराले भने, ‘फोहरले वातावरण प्रदुषण भयो । हिउ कम पर्न थाल्यो, पानी कम पर्न थाल्यो, यार्सा र अन्य जडिबुटी पनी लोभ हुन थाले ।’ साहारा नेपालका अध्यक्ष ज्ञानबहादुर बोहोराले यार्सा संकलनमा आउने व्यक्तिहरुले सालैपिच्छे फोहर थुपार्ने गरेको बताए ।
‘फोहरका कारणले गर्दा यहाँको जैविक विविधतालाई नकरात्मक असर पारेको देखिन्छ । अहिलेसम्म हजारौं टन प्लाष्टिकजन्य, सिसाजन्य, पुराना जुताचप्पल र खेर गएका कपडाहरु जताततै फालेका भेटिन्छन् । हिमाली क्षेत्रतिर अहिले जताततै फोहरै फोहर भएको छ । यहि मात्रामा फोहोर थुप्रने हो भने हिमाली क्षेत्र नष्ट हुने देखिन्छ,’ उनले भने ।
फोहर व्यवस्थापनमा गाउँपालिकाले मात्र नभइकन आमनागरिकले आफ्नो कर्तव्य ठानेर संरक्षण, व्यवस्थापन गर्न नसके जडिबुटी मात्रै नभएर हिमाली क्षेत्रमा फोहरबाहेक केहि पनि नपाइने अवस्था सिर्जना हुन सक्ने अध्यक्ष बोहोराले उनले बताए । साइपाल गाउँपालिका धार्मिक, साँस्कृतिक र प्राकृतिक सम्पदाले भरिपूर्ण रहेको छ ।
छाँगा, छहरा वनजंगल, वन्यजन्तुहरु ताल, हिमालहरुका सुन्दर दृश्यहरु पनि छन् । यार्सा संकलन तथा अन्य जडिबुटी संकलनकर्ताहरुले गरेको फोहरलाई व्यवस्थापन गर्न गाउँपालिकाले चासो दिएको पर्यटन अभियन्ता किशोर खड्काले बताए । उनले फोहर व्यवस्थापन गाउँपालिकाको सह्रानीय काम भएको पनि बताए ।
गाउँपालिकाले अघिल्ला बर्षहरुमा पनि गाउँपालिका र गैरसरकारी संस्थाहरुको साझेदारीमा फोहर व्यवस्थापन गर्ने गरेको गाउँपालिकाका अध्यक्ष धामीले बताए । उनले भने, ‘समयमै हिमाली क्षेत्रमा फोहोर व्यवस्थापन गर्न गाउँपालिका लागिपरेको छ ।’ अघिल्लो बर्षको तथ्यांक अनुसार बर्षमा प्रतिव्यक्ति ७ केजीका दरले साइपालमा फोहोर थुप्रने गरेको छ ।
गाउँपालिकामा बसोवास गर्ने जनसंख्या कम भए पनि यार्सा लगायत अन्य जडिबुटी संकलन क्षेत्र भएकाले बाहिरी जिल्ला तथा अन्य स्थानीय तहबाट पनि धेरै मानिसहरु आउने गरेका छन् । यार्सा संकलनको समयमा साइपाल गाउँपालिकाका हिमाली क्षेत्रमा यार्सा तथा अन्य जडिबुटी संकलन क्षेत्रमा झण्डै पाँच हजार जनसंख्या पुग्ने गरेको छ ।
‘बाहिरबाट आउने जनसंख्याले गरेको फोहरले भविष्यमा वातावरणमा ठुलो असर पर्छ भन्ने उद्देश्यले यार्सा संकलन क्षेत्रमा गाउँपालिकाले फोहोर व्यवस्थापनका लागि खाल्डो बनाएर फोहर विर्सजन गर्ने गरेका छौं, अध्यक्ष धामीले भने, ‘जुन ठाउँबाट ल्याएको फोहर भित्रिएको छ, त्यहि ठाउँमा फिर्ता गर्ने खालको सिस्टम बसाल्न लागेका छौ ।’
उनले गाउँपालिकाको क्षेत्रभित्र आएका व्यक्तिहरुको सूची तयार गरेर बोकेर लान सकिने प्लाष्टिक र सिसाजन्य फोहरहरु जुन ठाउँबाट ल्याएका छन्, त्यही ठाउँमा फिर्ता गरिने जनाए । गाउँपालिकाले कोरोनाको जोखिम बढ्दै गएपछी यार्सा संकलकहरुलाई कुनै पनि किसिमको समस्या नहोस भनेर यार्सा संकलन परिचय पत्रको पनि व्यवस्था गरेको छ ।
गाउँपालिकाले यार्सा संकलन क्षेत्रमा यार्सा संकलनकर्तालाई भेला गरेर यार्सा संकलन क्षेत्रहरुमा वातावरण संरक्षण तथा फोहोर व्यवस्थापनका लागि समितिहरु समेत गठन गरेको छ । यार्सा संकलन क्षेत्रमा खोलिएका पसल होटल व्यवसायीहरु तथा यार्सा संकलकहरुलाई आ–आफ्नो पालको अगाडी फोहर व्यवस्थापनको लागि खाल्डो बनाउन लगाएको छ ।
।