सूचनाको शक्ति - The Power Of Information

        

एसईई र कक्षा १२ को परीक्षाको मोडालिटी परिवर्तन गरिने

फाइल तस्वीर

काठमाण्डौ । सरकारले  कक्षा १०  को  माध्यमिक  शिक्षा  परीक्षा  (एसईई) तथा  कक्षा  १२  को  राष्ट्रिय  परीक्षा  कसरी सञ्चालन  गर्ने  भन्ने  सम्बन्धमा  अध्ययन सुरु गरेको छ ।

आठ लाखभन्दा विद्यार्थीलाई कोरोना (कोभिड–१९)को सङ्कट भइरहँदा कसरी परीक्षाको निकास दिने भन्नेबारे अध्ययन सुरु गरिएको हो । राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा. चन्द्रमणि पौडेलले परीक्षाको मोडालिटीमा   बारेमा अध्ययन गर्न गठित कार्यदलले यस विषयमा अध्ययन थालिसकेको जानकारी दिए ।

बोर्डले जेठ  १३  गतेबाट एसईई तथा जेठ अन्तिम साताबाट कक्षा  १२  को परीक्षा लिने निधो गरेको थियो । कोरोना बढ्दै गई निषेधाज्ञाको चरणमा पुगेपछि परीक्षा स्थगित गरी परिवर्तित परिस्थितिमा परीक्षाको मोडालिटीमा विषयमा अध्ययन गर्ने निर्णय गरेको थियो ।

त्यसका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक वैकुण्ठ अर्यालको नेतृत्वमा अध्ययन समिति गठन बनाइएको  छ । बोर्डका अध्यक्ष डा. पौडेलले आफूहरूले कार्यदलकै  अध्ययन  प्रतिवेदन  पर्खेको र त्यसकै  आधारमा  उपयुक्त  विकल्पमा निर्णय गरिने जानकारी दिए ।  कार्यदल वैशाख २७ गते गठन गरिएको थियो । कार्यदललाई १५ दिनको समयसीमा दिइएको थियो ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहीबार ०८:५०