सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा साताव्यापी रक्तदान अभियान

अनलाइन पत्रकार संघले भन्यो, ‘रक्तदानजस्तो पुण्य कार्यमा सहभागी हुनुस्’

रक्तदान अभियानको पहिलो दिन १५ जनाले रक्तदान गरेका छन् ।

बाँके । कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएपछि देश लकडाउनमा छ । देशभर कोरोनाको उच्च जोखिम छ । लकडाउनका कारण बाँकेमा रगत अभाव हुन थालेको छ । विशेषगरि संस्थागत रुपमा रक्तदान गर्ने क्रम रोकिएपछि रगत अभाव हुन थालेको हो । संस्थागत रक्तदान नभएपछि रगत अभाव हुन थालेको नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्र क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले जानकारी दिए ।

उनले इमरजेन्सीका लागि थोरै रगत मौज्दात राखेको बताउँदै संस्थागतरुपमा रक्तदान नभएकोले सर्वसुलभरुपमा रगत उपलब्ध गराउन समस्या हुन थालेको बताए । उनले भने, ‘रक्तदान गर्ने व्यक्ति ल्याएपछि मात्र रगत दिन थालेका छौं । ‘धेरै पिन्ट रगत आवश्यक परे दिन सक्ने अवस्था हामीसँग छैन । इमरजेन्सीका लागि राखेको रगतले धेरैलाई धान्न सक्ने अवस्था छैन । संस्थागत रक्तदान गर्न हामी अपिल गर्दछौँ ।’

उनका अनुसार जति रगत आवश्यक छ, त्यति रगत दिने दाता ल्याउनेलाई मात्र रगत दिनुपर्ने अवस्था छ । उनले तत्कालै संस्थागत रक्तदान नभए समस्या आउन सक्नेतर्फ औँल्याउँदै समस्या आउनुअघि नै रक्तदान गर्न रक्तदाता र संस्थासँग आग्रह गरेका छन् । कोरोना भाइरस र लकडाउनले रक्तदानमा कुनै असर नपर्ने बताउँदै रक्त सञ्चार केन्द्र क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख रेग्मीले बेलैमा रक्तदान गर्न अपील गरेका छन् ।

जिल्लामा रगत अभाव हुन थालेपछि अनलाइन पत्रकार संघ, बाँकेले बुधबारबाट साताव्यापी रक्तदान अभियान सुरु गरेको छ । कोरोना संक्रमित बिरामीलाई लक्षित गरी संघले साताव्यापी रक्तदान अभियान सुरु गरेको हो । कोरोना संक्रमण बढेसँगै बाँकेमा रगत अभाव भएको खबर बाहिरिएपछि साताव्यापी रक्तदान अभियान सुरु गरेको संघका अध्यक्ष कमल न्यौपानेले जानकारी दिएका छन् ।

उनका अनुसार रक्तदान अभियानको पहिलो दिन १५ जनाले रक्तदान गरेका छन् । उनले संकलित रगत कोरोना संक्रमित बिरामीलाई दिइने बताउँदै आवश्यक परे अन्य बिरामीलाई समेत दिन सकिने बताए । रगत अभावमा बिरामीले अकालमा ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम गरिएको उनले बताए । उनले रक्तदानजस्तो पुण्य कार्यमा सहभागी हुन रक्तदाताहरुलाई अपिलसमेत गरेका छन् ।

बाँकेमा कोरोनाको दोस्रो लहरले जिल्लामा लकडाउन गर्नुपरेको छ भने अस्पतालहरुमा बिरामी चाप बढी रहेको अवस्थामा रक्तदान अभियानको सुरुवात गरेको अध्यक्ष न्यौपानेको भनाई छ । ‘कोरोना संक्रमणको जालो फैलिरहेको अवस्थामा सामान्य अवस्थामा सामान्य अवस्थामा जस्तो रक्तदान कार्यक्रम नहुँदा जिल्लामा रगत अभाव भएको खबरहरु सार्वजनीक भएपछि हामीले रक्तदान अभियानको सुरुवात गरेका हौं, अध्यक्ष न्यौपानेले भने ।

प्रकाशित मिति : ६ जेष्ठ २०७८, बिहीबार ०७:१९