सूचनाको शक्ति - The Power Of Information

        

राष्ट्रिय सभा उपनिर्वाचन

उमेदवारी मनोनयन आज, गठबन्धनबाट पाण्डे र एमालेबाट खड्काले उमेदवारी दिने

काठमाडौं । जेठ १७ गते लुम्बिनी प्रदेश अन्तर्गत हुने राष्ट्रिय सभा निर्वाचनको उमेदवारी मनोनयन आज हुँदैछ । निर्वाचन कार्यतालिका अनुसार आज मनोनयन हुने निर्वाचन आयोगले जनाएको छ ।

उक्त निर्वाचनका लागि नेकपा एमालेले चन्द्रबहादुर खड्कालाई नै उमेदवारको रुपमा अघि सारेको छ । उनी एमाले प्रवेश गरेका कारण माओवादीले कारबाही गर्दा उक्त स्थान रिक्त भएको थियो ।

एमालेले उनलाई नै उमेदवार बनाउने निर्णय गरेको हो । आज उमेदवारी दिने खड्काले जानकारी दिए । त्यस्तै नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चासहितको गठबन्धनले भने दृगनारायण पाण्डेलाई उमेदवार बनाउने भएको छ ।

उनी वैशाख १९ गते एमाले प्रदेश सभा सदस्यबाट राजीनामा दिएर क्रांग्रेस प्रवेश गरेका थिए । पाण्डेयलाई नै उमेदवार बनाउने निर्णय भएको लुम्बिनी प्रदेश कांग्रेस संसदीय दलका नेता वीरेन्द्र कुमार कनौडियाले जानकारी दिए ।

लुम्बिनीमा प्रदेश सभा सदस्य र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष गरी २९६ मतदाता छन् । जसमा प्रदेश सभा सदस्य ७९ र गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, नगरपालिकाका अध्यक्ष, उपाध्यक्ष गरी २१७  मतदाता छन् । राष्ट्रिय सभा निर्वाचनमा प्रदेश सभा सदस्यको मतभार ४८ र स्थानीय तहका प्रतिनिधिको मतभार १८ हुन्छ ।

आयोगले उक्त निर्वाचनका लागि दाङ जिल्ला घोराही उपमहानगरपालिका वडा नम्बर १५ स्थित कर्मचारी मिलन केन्द्रलाई मतदान स्थल तोकेको छ । उक्त मतदान स्थलमा ‘क’ र ‘ख’ र गरी तीन मतदान केन्द्र तोकिएको छ ।

आयोगले यस अघि नै निर्वाचन अधिकृत तोकिसकेको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलवार ०८:१९