सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

मानवीय सेवामा समर्पित ‘अजय’

नेपालगन्ज उपमहानरपालिका–१७, परसपुरस्थित एचओ अक्सीजन इण्डस्ट्रिजले भेरी अस्पतालका लागि हरेक शनिबार निशुल्क अक्सीजन सिलिण्डर सहयोग गर्दै आएको छ ।

बाँके । उद्योगी, व्यवसायीले आफ्नो फाइदा मात्र हेर्छन् भन्ने धारणा समाजमा व्याप्त छ तर कतीपय उद्योगी यस्ता पनि छन्, जसले मानवीय सेवामा आफुलाई समर्पण पनि गरिरहेका छन् । कोरोना संक्रमीतको प्रभावकारी उपचारमा अनिवार्य देखिएको अक्सीजन अभाव भइरहेका बेला सोको व्यवस्थापनमा सहयोग गर्नु आफैंमा उच्च सेवाभाव हो ।

नेपालगन्ज उपमहानरपालिका–१७, परसपुरस्थित एचओ अक्सीजन इण्डस्ट्रिजले भेरी अस्पतालका लागि हरेक शनिबार निशुल्क अक्सीजन सिलिण्डर सहयोग गर्दै आएको छ । वडाध्यक्षसमेत रहेका इण्डष्ट्रिजका सञ्चालक अजय पाठकले बैशाख १८ देखि जेठ १८ गतेसम्म हरेक शनिबार ग्याँस सिलिण्डर प्रदान गर्दै आएका छन् ।

शनिबार अस्पतालमा खपत हुने सम्पूर्ण सिलिण्डर उद्योगले व्यहोर्छ । दैनिक ५०० सिलिण्डर भेरी अस्पताललाई उपलव्ध गराउँदै आएका पाठकले तीन वटा शनिबार गरेर ११३३ वटा ग्यास सिलिण्डर निशुल्क सहयोग गरिसकेका छन् । प्रति सिलिण्डर ७५० का दरले अहिलेसम्म ८ लाख ४९ हजार बराबरको सहयोग गरिसकिएको छ ।

सूर्य शक्तिसँगको सहकार्यमा दैनिक एक हजार सिलिण्डर उत्पादन भइरहेको पाठकले जनाए । अक्सिजनको माग अत्यधिक, उत्पादन कम भइरहेका बेला व्यवसाय प्रवद्र्धनमात्र नभई विरामीको ज्यान जोगाउनुपर्छ भन्ने भावना जागृत भएर सक्दो सहयोग गरिरहेको उनको भनाई छ । नेपालगन्ज मेडिकल कलेजलाई ८०, बुटवल प्रादेशीक अस्पताललाई १००, दाङ १००, धनगढी र सुर्खेत ७०–७० वटा ग्यास सिलिण्डर पठाउँदै आएको छ ।

दैनिक ६०० देखि ८०० सिलिन्डरसम्म उत्पादन गर्दै आएको उद्योगले हाल एक हजार सिलिण्डर उत्पादन गर्दै आएको छ । अक्सिजन उद्योगमा समस्या नहोस् भनेर ११ केभीएको नयाँ फिडर जडान गरेपछि उद्योगमा चौबिसै घण्टा विद्युत् रहने भएपछि उत्पादन बढेको उद्योगले जनाएको छ । प्रशासनले समयमै फिडर जडान गरिदिएकाले अक्सिजन उत्पादन बढेकाले अभाव नहुने जनाएको छ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार १०:३३