सूचनाको शक्ति - The Power Of Information

        

एमालेको विवाद मिलाउन बनेको कार्यदलले आजदेखि काम थाल्दै

काठमाडौं । नेकपा एमालेभित्रको विवाद मिलाउन गठन भएको कार्यदलले आजदेखि काम थाल्दैछ ।

पार्टीभित्र अध्यक्ष केपी शर्मा ओली र माधवकुमार नेपाल पक्षबीच विवाद बढ्दै गएर पार्टी फुटकै अवस्थामा पुग्न थालेपछि विवाद मिलाउन कार्यदल बनेको हो ।

कार्यदलले आजदेखि काम थाल्ने ओलीपक्षका तर्फबाट कार्यदलको नेतृत्व गरेका नेता सुवास नेम्वाङले उज्यालोलाई जानकारी दिनुभयो । उहाँले नेताहरुबीच अनौपचारिक कुराकानी भइरहेको र दिउँसो औपचारिक रुपमै बैठक बस्न सक्ने जानकारी दिनुभयो ।

माधव नेपाल पक्षले पार्टीलाई २०७५ सालको जेठ २ गतेकै अवस्थामा फर्काउनुपर्ने माग राख्दै आएको छ । ओली पक्षले भने पार्टीमा धेरै घटनाक्रमको विकास भइसकेको र माओवादी केन्द्रबाट समेत नेताहरु एमालेमा प्रवेश गरेकाले नयाँ ढंगले व्यवस्थापन गर्नुपर्ने बताउँदै आएको छ ।

पार्टीभित्रको विवाद मिलाउन ओली पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, विष्णु रिमाल, प्रदीप ज्ञवाली र शंकर पोखरेल र नेपाल पक्षको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेको कार्यदल बनेको छ ।

कार्यदलले तीन दिनभित्र विवाद मिलाउने खाका बनाउनेछ ।

प्रकाशित मिति : ३ जेष्ठ २०७८, सोमबार ०९:१४