काठमाडौं । काठमाडौं महानगरपालिकाले आगामी असार पहिलो सातादेखि विद्यालय तहको नयाँ शैक्षिक सत्र सुरु गर्ने निर्णय गरेको छ ।
जेठ २० गतेसम्म वैकल्पिक विधिबाट परीक्षा सम्पन्न गरी मसान्तसम्म नतिजा प्रकाशन गर्न महानगरपालिकाले सर्कुलर गरेको हो ।
विद्यालयको अनुकूलताअनुसार अनलाइन, अफलाइन, टेलिफोनलगायत यसअघि सञ्चालित परीक्षाका आधारमा नतिजा प्रकाशन गर्न सकिने शिक्षा विभाग प्रमुख रामप्रसाद सुवेदीले जनाए ।
असार पहिलो साताबाट नयाँ शैक्षिक सत्र सुरु गर्ने व्यवस्था मिलाउने महानगरपालिकाले ताकेता गरेको हो । कतिपय निजी विद्यालयले नतिजा प्रकाशन गरेर नयाँ शैक्षिक सत्रको अनलाइन पठनपाठनसमेत सुरु गरिसकेका छन् ।
कक्षा ८ को नगरस्तरीय परीक्षाका विषयमा भने छिट्टै निर्णय लिएर सूचना जारी गरिने सुवेदीले बताए । शिक्षा मन्त्रालयले गत वर्षको कोरोना महामारीका कारण वैशाखबाट सुरु हुने शैक्षिक सत्रलाई असारमा सारेको थियो ।
यसपालि पनि वैशाखदेखि शिक्षण संस्थाहरू ठप्प छन् । पठनपाठन र परीक्षा रोकिएको छ । मन्त्रालयले अर्को निर्णय नभएसम्म असार पहिलो साताबाटै शैक्षिक सत्र सुरु हुने जनाएको छ ।
पठनपाठन र परीक्षा हुन नसकेकाले चालु शैक्षिक सत्रलाई अझै पछाडि थकेल्ने कि भन्ने विषयमा छलफल भइरहेको मन्त्रालय स्रोतले जनाएको छ । जेठमा सञ्चालन हुने कक्षा १० र १२ को परीक्षा पनि स्थगित गरिएको छ ।
।