काठमाडौं । अर्थ मन्त्रालयले कोरोना रोकथाम, उपचार तथा नियन्त्रणका लागि अस्पतालहरूको क्षमता अभिवृद्धि र स्वास्थ्य सामग्रीका लागि खर्च गर्न चार अर्बभन्दा बढीको सहमति दिएको छ । अर्थ मन्त्रालयले कोरोनाविरुद्ध खर्च गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आइतबार चार अर्ब ३१ करोड ८५ लाख ६० हजार रूपैयाँको सहमित दिएको हो ।
अर्थले २६ वटा केन्द्रीय अस्पताल र ९ वटा प्रादेशिक अस्पतालमा भेन्टिलेटर, अक्सिजन प्लान्ट र अक्सिजन ट्यांकका लागि २ अर्ब ९५ करोड २० लाख रूपैयाँको सहमति दिएको जनाएको छ । यस्तै केन्द्रीय र प्रदेशिक गरी २५ वटा अस्पताललाई एचडीयू स्थापनाका लागि १ अर्ब ३६ करोड ६५ लाख ६० हजार रुपैयाँको सहमति दिइएको छ ।
अर्थ मन्त्रालयका अनुसार नेपालगन्जस्थित भेरी अस्पतालका लागि मात्रै १५ करोड खर्चको सहमति दिएको छ । कोभिड–१९ को रोकथाम, उपचार तथा नियन्त्रणका लागि आवश्यक सबै उपाय अवलम्बन गर्ने नीति अन्तर्गत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको माग अनुरुप सो स्रोत सुनिश्चित गरेको अर्थ मन्त्रालयले जनाएको छ ।
।