सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

एमाले सचिव रत्न खत्रीले बाँकेमा सुरु गरे ‘हामी दिन्छौं रगत’ अभियान

बाँके । कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएपछि देश लकडाउनमा छ । देशभर कोरोनाको उच्च जोखिम छ । लकडाउनका कारण बाँकेमा रगत अभाव हुन थालेको छ । विशेषगरि संस्थागत रुपमा रक्तदान गर्ने क्रम रोकिएपछि रगत अभाव हुन थालेको हो ।

संस्थागत रक्तदान नभएपछि रगत अभाव हुन थालेको नेपाल रेडक्रस सोसाइटी, रक्त सञ्चार केन्द्र क्षेत्रीय कार्यालय नेपालगन्जका प्रमुख उपेन्द्र रेग्मीले जानकारी दिएका छन् । उनले इमरजेन्सीका लागि थोरै रगत मौज्दात राखेको बताउँदै संस्थागतरुपमा रक्तदान नभएकोले सर्वसुलभरुपमा रगत उपलब्ध गराउन समस्या हुन थालेको बताए ।

उनले भने, ‘रक्तदान गर्ने व्यक्ति ल्याएपछि मात्र रगत दिन थालेका छौं । ‘धेरै पिन्ट रगत आवश्यक परे दिन सक्ने अवस्था हामीसँग छैन । इमरजेन्सीका लागि राखेको रगतले धेरैलाई धान्न सक्ने अवस्था छैन । संस्थागत रक्तदान गर्न हामी अपिल गर्दछौँ ।’ उनका अनुसार जति रगत आवश्यक छ, त्यति रगत दिने दाता ल्याउनेलाई मात्र रगत दिनुपर्ने अवस्था छ ।

उनले तत्कालै संस्थागत रक्तदान नभए समस्या आउन सक्नेतर्फ औँल्याउँदै समस्या आउनुअघि नै रक्तदान गर्न रक्तदाता र संस्थासँग आग्रह गरेका छन् । कोरोना भाइरस र लकडाउनले रक्तदानमा कुनै असर नपर्ने बताउँदै उनले बेलैमा रक्तदान गर्न अपील गरेका छन् । जिल्लामा रगत अभाव हुन थालेपछि बाँकेमा ‘हामी दिन्छौं रगत’ अभियानको थालनी भएको छ ।

कोरोना संक्रमणको दोस्रो लहरले जिल्लामा रगत अभाव हुन थालेपछि नेकपा एमाले बाँकेका सचिव रत्न खत्रीले आइतबार रक्तदान गरी ‘हामी दिन्छौं रगत’ अभियानको थालनी गरेका छन् । बाँकेमा कोरोनाको दोस्रो लहरले जिल्लामा लकडाउन गर्नुपरेको छ भने अस्पतालहरुमा बिरामी चाप बढी रहेको अवस्थामा सचिव खत्रीले सो अभियानको सुरुवात गरेका हुन् ।

कोरोना संक्रमणको जालो फैलिरहेको अवस्थामा सामान्य अवस्थामा सामान्य अवस्थामा जस्तो रक्तदान कार्यक्रम नहुने र रक्तदाताहरु समेत भेटिन गाह्रो हुने भएपछि जिल्लामा रगत अभाव भएको छ । सचिव खत्रीले रक्तदानपछि ‘हामी दिन्छौं रगत’ अभियानको आफ्नो सामाजिक सञ्जालमा लेख्दै यो अभियानमा जोडिन सबैलाई अपिलसमेत गरेका छन् ।

सचिव खत्रीले अगाडि लेखेका छन्, ‘हो हिजो आज जताततै अभाव छ । यो सामान्य अवस्था होइन यो त माहमारीको अवस्था हो, हामी सबै मिलेर सामना गर्नुको विकल्प छैन, पोहोर साल पनि यहिबेला रगत संकलन केन्द्रमा रगत अभाव हुँदा मैले र नेपाली काँग्रेसका नगर सभापति प्रशान्त बिष्टले हामी दिन्छौं रगत भन्ने अभियान चलाएका थियौं ।’

यसपटक पनि रगतको अभाव देखियो र आजबाट पुनः शुरु गरिएको छ, ‘हामी दिन्छौं रगत’ भन्ने अभियान पोहोर सालजस्तै यसपटक पनि यहाँहरुको सक्रिय सहभागिताको लागि हार्दिक अपील गरिएको छ । रक्तसञ्चार केन्द्रमा देखिएको रगत अभाव कम गर्ने उद्देश्यले स्वयंसेवी रक्तदाताहरुलाई आव्हान गरेर रक्तदानका लागि प्रेरित गरिरहेको छ ।

‘हामीले रक्तदाताहरुलाई आह्वान गरेका छौं, अहिलेको कोरोना संक्रमणको अवस्था सामान्य नहुँदासम्म स्वयंसेवी रक्तदाता खोजेर रक्तदानमा सहयोग गर्छौ,’ सचिव खत्रीले भने । उनले स्वास्थ्य जोखिमको घडीमा रगत आवश्यक पर्ने भएकाले ब्यक्तिगत तथा संस्थागत आम रक्तदाताहरुलाई रक्तदान गर्न आग्रह गरे ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतवार २१:३१