बाँके । नेपालगन्ज उपमहानगरपालिकाले कोभिड रोकथाम र नियन्त्रणका लागि सम्भव भएसम्म सम्पूर्ण प्रयास जारी राखिएको जनाएको छ । उपमहानगरपालिकाले आइतबार आयोजना गरेको पत्रकार भेटघाटमा नगर प्रमुख डा. धवलशम्शेर राणाले यसपटक स्वास्थ्य उपचार र सेवामा बढि ध्यान दिइएको जानकारी दिए ।
उनले जिल्लाभरका अस्पतालहरुमा अक्सिजन अभाव हुन नदिन र अन्य उपचार व्यवस्थापनका लागि सहजिकरण गरिरहेको जानकारी दिए । ‘आगामी दिनमा पनि कोभिड नियन्त्रण र रोकथामका लागि प्रभावकारी कार्यक्रम ल्याएर अघि बढ्ने योजना बनाएका छौं,’ उनले भने, ‘कोभिडविरुद्ध लड्न सबै पक्षबीच सहकार्य हुन जरुरी छ ।’ उनले नगरभित्र सञ्चालित आइसोलेसनले अस्पताललाई सहयोग पुगेको बताए ।
उपप्रमुख उमा थापा मगरले कोभिड रोकथाम नियन्त्रणका लागि नेपालगन्जले सक्दो प्रयास जारी राखेको भन्दै नेपालगन्जले गरिरहेका कार्यक्रमबारे जानकारी गराइन । उनले उपमहानगरका वडास्तरबाट पनि प्रभावकारी कार्यक्रम भएको बताइन् । पत्रकार भेटघाटमा वडा नं. २ का वडाध्यक्ष सुनीलसिंह हमाल, वडा नं. १८ का वडाध्यक्ष दिपक बर्मा लगायतको सहभागिता रहेको थियो ।
कोभिड–१९ संकट रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि भएका प्रयासहरु समेटेर नेपालगन्ज उपमहानगरपालिकाद्वारा २०७८ जेठ २ गते जारी गरिएको प्रेस नोट
नेपालगन्ज उपमहानगरपालिकाले गतवर्षदेखि नै कोभिड–१९ संक्रमण रोकथाम र नियन्त्रणका लागि प्रयासरत रहँदै आएको छ । जनप्रतिनिधी र कर्मचारीको कोभिडकै कारण निधन भएको छ । धेरैजना संक्रमित भए पनि निरन्तर कोभिड रोकथाम र नियन्त्रणका लागि विभिन्न कामहरु भईरहेका छन् ।
हालसम्म यहाँ कार्यरत एकजना जनप्रतिनिधि र २ जना कर्मचारी गरि ३ जनाको निधन भएको छ । स्वास्थ्यकर्मी, जनप्रतिनिधी र सरसफाईकर्मी गरि १५९ जनामा कोभिड संक्रमण भएको छ । कोभिड रोकथाम र नियन्त्रणका लागि उपमहानगरपालिकाबाट भएगरेका प्रमुख कार्यक्रमहरु निम्नानुसार रहेका छन् ।
१. कोभिड रोकथाम र नियन्त्रणका लागि स्वास्थ्य जनशक्ति अभावको अवस्थालाई मध्यनजर गर्दै नेपालगन्ज उपमहानगरपालिकामा ५४ जना स्वास्थ्यकर्मी करारमा भर्ना गरिएको छ । ति मध्ये १५ जना भेरी अस्पतालमा कार्यरत रहनुभएको छ । अन्यलाई जमुनाहस्थित हेल्थडेस्क, आईसोलेसन र वडास्थित स्वास्थ्य कार्यालयमा परिचालन गरिएको छ ।
२. भेरी अस्पतालमा कोभिडका विरामीको चापलाई मध्यनजर गर्दै भेरी अस्पतालको प्रत्यक्ष निगरानी रहने गरि रामलिला मैदानस्थित तालिम केन्द्रमा ५० सइयाको अक्सिजन सहितको आईसोलेसन वार्ड सञ्चालन गरिएको छ । जहाँ चिकित्सक र स्वास्थ्यकर्मीको नियमित रेखदेख हुने गरेको छ ।
आइसोलेसनमा भेरी अस्पताल र अन्य पालिकाका आइसोलेसनबाट समेत विरामी रिफर भई आउने गर्नुभएको छ । जेठ २ गतेसम्म यस आईसोलेसनमा ८५ जनाले सेवा लिनुभएको छ । जेठ २ गते विहानसम्म १६ जना उपचारको क्रममा रहनुभएको छ । यसैगरी, तालिम केन्द्र नजिकै रहेको बाल मन्दिरमा पनि आइसोलेसन केन्द्र निर्माणका लागि आवश्यक तयारी अघि बढाइएको छ ।
३. भारतबाट फर्किनेहरुको सीमानाकामा हुने एन्टिजिन परीक्षणमा पोजिटिभ देखिएपछि राख्नका लागि होटल ह्वाईटहाउसमा ५० शैय्याको आइसोलेसन वार्ड सञ्चालन गरिएको छ । यो आइसोलेसनमा घरमा आइसोलेसनको उपयुक्त व्यवस्था नभएका नगरबासीले समेत सेवा लिइरहनुभएको छ । यो आइसोलेसनमा बैशाख ४ देखि जेठ १ गतेसम्म १०५ जनाले सेवा लिनुभएको छ ।
४. नेपालगन्ज उपमहानगरपालिका वडा नं. ४ मा चिकित्सकसहित १० शैय्याको आइसोलेसन केन्द्र सञ्चालन गरिएको छ । जसमा २७ जनाले सेवा लिनुभएको छ । वडा नं. १२ मा वडा कार्यालयलाई १४ सइयाको आइसोलेसन केन्द्रको रुपमा सञ्चालन गरेको छ । इन्द्रेणी होटलमा रहेको आइसोलेसन केन्द्रमा यस उपमहानगरपालिकाबाट आवश्यक स्वास्थ्य सेवा उपलब्ध गराइएको छ । यसमा हालसम्म ३१ जनाले सेवा लिनुभएको छ ।
५. नेपालगन्जका २३ वटै वडामा स्वास्थ्य संस्था रहेका छन् । कोभिड रोकथाम र नियन्त्रणका लागि वडामा फोकल पर्सन चयन गरिएको छ । उनीहरुले होम आइसोलेसनमा बसेका संक्रमितहरुसँग नियमित सम्पर्क गरिरहेका छन् । संक्रमितको स्वास्थ्य समस्या बारेमा थप परामर्शका लागि नेपाल चिकित्सक संघ नेपालगन्जको सहकार्यमा हरेक वडामा चिकित्सकले आवश्यक सहयोग गर्दै आउनुभएको छ । यसका लागि चिकित्सक संघ लगायत सम्पूर्ण चिकित्सकहरुमा हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।
६. एउटामात्र शव वाहन भएका कारण शव व्यवस्थापनमा समस्या भएपछि गत वर्षझैं यसवर्ष पनि नेपालगन्ज उपमहानगरपालिकाले नेपाली सेनालाई एउटा सवारी साधन उपलब्ध गराएको छ । जसले पछिल्ला दिनमा शव व्यवस्थापनमा सहजता भएको छ । कोभिडका विरामीहरुलाई अस्पतालसम्म ल्याउन सहजताका लागि नगरभित्र एम्बुलेन्स सञ्चालन गरिएको छ । यी एम्बुलेन्सले निःशुल्क विरामीको सेवा गरिरहेका छन् । थप एम्बुलेन्स सञ्चालनको प्रक्रियामा रहेको छ । वडा नं. १३ र १८ मा निःशुल्क एम्बुलेन्स सेवा सुरु भएको छ ।
७. नगरमा कोभिड संक्रमण रोकथाम र नियन्त्रणलाई प्रभावकारी बनाउन नगरप्रमुख डा.धवलशम्शेर राणाको संयोजकत्वमा कोभिड रोकथाम र नियन्त्रणका लागि भइरहेका कामको अनुगमन र व्यवस्थापनका लागि उच्च स्तरीय समिति गठन गरेको छ । समितिमा उपप्रमुख उमा थापा मगर, प्रवक्ता प्रमोद रिजाल, वडा नं.२ का वडाध्यक्ष सुनीलसिंह हमाल, वडा नं.३ का वडाध्यक्ष मो.अयुव सिद्धिकी, वडा नं.१२ का वडाध्यक्ष बुद्धिसागर सुवेदी, वडा नं.१४ का वडाध्यक्ष ओमकारनाथ मिश्रा, वडा नं. १८ का वडाध्यक्ष दिपक बर्मा र कार्यपालिका सदस्यहरु इन्दिरा शाही, मञ्जु नेपाली र कौसलकुमार धोवी रहनुभएको छ ।
८. भारतबाट फर्किनेहरुको लगत संकलन तथा स्वास्थ्य परीक्षण र अन्य परामर्शका लागि सीमा नाकामा चैत ११ देखि हेल्थडेस्क स्थापना गरिएको छ । हालसम्म ६९ हजार ३३३ जना स्वदेश फिर्ता हुनु भएकोमा लक्षण चिन्ह देखिएका सहित एक हजार ५१० जनाको एन्टिजेन परीक्षण गरिएको छ । तीमध्ये १९७ जनामा कोभिड पोजिटिभ देखिएको छ । जमुनाहमा स्थायी हेल्थडेस्क निर्माण कार्य अघि बढाइएको छ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको सहकार्यमा जमूनाह भन्सारमा भारतबाट फर्किनेहरुको सहजताका लागि होल्डिङ्ग सेन्टर सञ्चालन गरिएको छ ।
९. नेपालगज उपमहानगरपालिकाले नगरमा निःशुल्क पिसिआर परीक्षण तथा एन्टिजिन परीक्षण गरिरहेको छ । यसैगरी कन्ट्याक्ट ट्रेसिङका लागि ५ वटा समूह निर्माण गरी उनीहरुसहित समग्र स्वास्थ्यकर्मीहरुको क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरिएको छ ।
१०. भेरी अस्पतालमा उपचाररत कोभिड संक्रमणका विरामी र उनीहरुका आफन्त तथा चिकित्सक र स्वास्थ्यकर्मीलाई सहुलियतदरमा खाना खुवाउन अञ्जनी माता रसोईलाई मासिक एकलाख रुपैयाँ सहयोग गरिँदै आइएको छ । नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा निःशुल्क पानी वितरण भइरहेको छ ।
११. नगरभित्र कुनै पनि स्वास्थ्य समस्या समाधान र आवश्यक सुझाव तथा परामर्शका लागि चिकित्सक सहित विज्ञ समुहको गठन गरिएको छ ।
१२. नगरभित्र होम आईसोलेसनमा बसिरहेकाहरुलाई प्रभावकारी सेवन दिनका लागि कोभिड नियन्त्रणमा खटिएका बरिष्ठ चिकित्सक र वडाका फोकलपर्सन तथा अन्य स्वास्थ्यकर्मीबीच अन्तरक्रिया गरिएको छ ।
१३. उपमहानगरपालिकासँग नगरका वडाहरुमा पनि कोभिड रोकथाम र नियन्त्रणका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेका छन् । चिकित्सकसहितको घरदैलो कार्यक्रम गरी निःशुल्क औषधी, एक्सरे र अक्सिजनको व्यवस्था गरिएको छ । नियमित फोन परामर्श, निशुल्क एम्बुलेन्स सेवा, सेनिटाइज, हाइजिन किट वितरणका कार्यक्रम जारी रहेका छन् ।
१४. नगरभित्र रहेका महिला, बालबालिका, अपाङ्गता भएका ब्यक्ति, जेष्ठ नागरिकहरुमा निषेधाज्ञाले पारेको प्रभाव र महामारीले परेको असरलाई सहजीकरण गर्न ६ वटा कार्यदल बनाएर कार्य विभाजन गरिएको छ । निःशुल्क कानूनी सेवा, उद्धार तथा पुनस्र्थापना, राहत–सहयोग, सूचना संकलन, अनूगमन निरीक्षण तथा पिसिआर परीक्षणमा सहयोगका लागि कार्यदल बनाइएको छ ।
१५. नेपालगन्ज उपमहानगरपालिकाले कोभिड रोकथाम र नियन्त्रणका लागि आगामी दिनमा पनि पूर्व तयारीलाई प्राथमिकता दिनेछ । आगामी बजेटमा कोभिड संक्रमणको दरलाई मध्यनजर गरि रोकथाम र नियन्त्रणमा केन्द्रीत भई अघि बढ्ने योजना बनाएका छौं ।
१६. बजार अनूगमन कार्यलाई निषेधाज्ञाको समयमा पनि निरन्तरता दिइएको छ ।
१६. नेपालगन्ज उपमहानगरपालिकाद्वारा सञ्चालित आइसोलेसनका लागि भेरी अस्पतालसहित सामग्री सहयोग गर्ने युनिसेफ, प्लान नेपाल, साथी, आइएनएफ, एक्सनएड, बी–ग्रुप नेपालगन्ज, बाँके, युनेस्को क्लव, बैश्य समाज, बागेश्वरी आयरन एण्ड इन्डष्ट्रिज, शिखर प्लाइउड लगायतका संघ संस्थाहरुले सहयोग गर्नुभएको छ ।
१७. कोभिड रोकथाम र नियन्त्रणका लागि सम्पूर्ण नगरबासी सहित आम जनसमुदायबाट साथ, सहयोग र सुझावका लागि हार्दिक अनुरोध गर्दछौं ।
।