सूचनाको शक्ति - The Power Of Information

        

जसपाको विवाद सतहमा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)  नेपालको  आन्तरिक  विवाद  सतहमा देखिन  थालेको  छ ।

जसपा  नेपालका  अध्यक्ष उपेन्द्र  यादवले  शनिबार  बैठक  बोलाएपछि अर्का  अध्यक्ष  महन्थ  ठाकुरले  बैठक  नै नडाकिएको भन्दै प्रेस विज्ञप्ति निकालेर आपत्ति जनाएका छन् ।

विज्ञप्तिमा उनले जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक शनिबार दिनको १ बजेदेखि पार्टी कार्यालयमा हुने भनेर विभिन्न सञ्चार  माध्यम  एवं  सामाजिक  सञ्जालबाट सूचना  र  समाचार  पाएकोप्रति  आफ्नो  गम्भीर ध्यानाकर्षण  भएको  उल्लेख  गरेका छन् ।

उनले  विज्ञप्तिमार्फत  जसपा  नेपालको  केन्द्रीय कार्यकारिणी समितिको कुनै बैठक नडाकिएको र त्यसको जानकारीसमेत आफूहरूलाई नभएको स्पष्ट पारेका छन् ।

अध्यक्ष  यादवले  भने  आफ्नो  निकटका सांसद  तथा  कार्यकारिणी  समिति  सदस्यको बैठक  बोलाएर  शनिबार  छलफल  गरेका छन् ।

यादव समूहले बहुमतको आधारमा लुम्बिनी प्रदेशको सरकारलाई सहयोग गरेका चार जना सांसदलाई  कारबाही  गरेकोमा  ठाकुरले  त्यो निर्णय  आधिकारिक  नभएको  भन्दै  आपत्ति जनाइसकेका छन् ।

जसपा नेपालका  सांसद  रामबाबु  यादवले ठाकुर र राजेन्द्र महतो पक्षले   पार्टीको विधानविपरीत महतोलाई पार्टी संसदीय दलको नेता घोषणा  गरेको भन्दै कारबाहीको प्रस्ताव लगिने सञ्चारकर्मीहरूसँग बताए ।

शनिबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सांसद यादवले पार्टीको संसदीय दलको विधान नबनेको र विधान बनेपछि  कार्यकारिणी समितिबाट अनुमोदन हुनुपर्ने  भए पनि महतोलाई  विधानविपरीत संसदीय दलको नेता बनाइएको प्रतिक्रियासमेत दिए ।

यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतवार ०७:३२