सूचनाको शक्ति - The Power Of Information

        

अक्सिजन आपूर्ति, उत्पादन र वितरण सरकारको प्राथमिकतामा : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले अक्सिजन आपूर्ति, उत्पादन र वितरणलाई प्राथमिकता दिएको बताउनुभएको छ ।

उहाँले कोरोना महामारीको अहिलेको जटिल अवस्थामा सरोकारवाला सबै पक्षलाई नागरिकको जिउधन जोगाउनमा केन्द्रित हुन निर्देशन दिनुभएको छ । हिजो बेलुकी जनस्वास्थ्यविद्, अस्पताल सञ्चालक, अक्सिजन सिलिण्डर सप्लायर्स तथा सरोकारवालासँगको सामूहिक छलफलमा उहाँले यस्तो निर्देशन दिनुभएको हो ।

यस्तो महामारीका बेला पनि अक्सिजन सिलिण्डर तथा औषधिमा कालोबजारी गरेको खबर आउनु दुःखद् भएको बताउँदै उहाँले त्यस्तो गरेको फेला परेमा कानुनअनुसार कडा कारबाही गरिने चेतावनी दिनुभएको छ । प्रधानमन्त्री ओलीले सरकार तथा निजी क्षेत्र सबैको ध्यान काेराेना नियन्त्रण र जनताको स्वास्थ्यमा हुनुपर्ने बताउनुभयो ।

प्रधानमन्त्रीले सरकार अभिभावक भएकाले समस्याका बेला सरकारले अभिभावकको भूमिका निर्वाह गर्ने र त्यसमा निजी क्षेत्रको हातेमालो र सहयोग अपरिहार्य रहेकोमा जोड दिनुभएको छ ।

विज्ञहरुको परामर्शका आधारमा सरकारले कार्ययोजना बनाई अगाडि बढ्ने र नागरिकको जिउधनको रक्षामा सरकारले कुनै कसर बाँकी नराखी आफ्नो संयन्त्र परिचालन गर्ने प्रतिवद्धता पनि प्रधानमन्त्रीले व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति : २ जेष्ठ २०७८, आइतवार ०७:२८