सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

बाँकेमा सङ्क्रमण घट्दै, मृतक बढ्दै, उपमहानगरमा ‘कन्ट्रयाक्ट ट्रेसिङ’

बाँके । दोस्रो चरणको कोरोना लहर सुरु भएलगत्तै हटस्पट बनेको बाँकेमा हाल आएर सङ्क्रमित थपिने क्रम बिस्तारै घट्न थालेको छ । तर, उपचारमा रहेकाको मृत्यु हुने क्रम भने कम भएको छैन ।

जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका अनुसार गत तीन दिनयता आएर सङ्क्रमित थपिनेक्रम क्रमशः घट्दैछ । दैनिक ६०० भन्दा बढी सङ्क्रमित भेटिन थालेकोमा हाल आएर ३०० देखि ४०० को सङ्ख्या हुन थालेको बाँकेका कोरोना फोकल पर्सन तेज ओलीले बताए ।

उनले वैशाख १ गतेदेखि सुरु भएको सङ्क्रमित वृद्धि हुनेक्रम हाल आएर केही कम भएकोजस्तो देखिएको बताए । वैशाख ९ गतेदेखि लगाइएको निषेधाज्ञाले गर्दा धेरै मानिस बाहिर निस्कन नपाएपछि सङ्क्रमण दर घटेको हुन सक्ने ओलीको आँकलन छ ।

यो साताको अन्त्यसम्म यसरी नै सङ्क्रमित घट्दै गएमा नियन्त्रणमा आउन थालेको मानिने जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेको ठहर छ । थप आठजनाको मृत्यु बाँकेका दुई ठूला अस्पतालमा सङ्क्रमितको मृत्यु हुनेक्रम भने रोकिएको छैन ।

गत केही दिनयता आएर दैनिक आठदेखि १८ जनासम्म मृत्यु भइरहेको जिल्ला कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेले जनाएको छ । बाँकेमा हालसम्म जिल्लाभित्रका स्थानीय २२२ जना र बाँकेमा बाहिरी जिल्लाबाट उपचार गर्न आएका १६७ जनाको मृत्यु भइसकेको छ ।

यता नेपालगन्ज उपमहानगरपालिकाले कोरोना संक्रमितको अति निकट सम्पर्कमा आएका ब्यक्तिहरुको पहिचान गरि कोरोना परीक्षण गर्ने तयारी गरेको छ । कन्ट्रयाक्ट ट्रेसिङ गरि संक्रमितको अति नजिकका ब्यक्तिको पहिचान गरि पिसिआर परीक्षण गर्न लागिएको स्वास्थ्य शाखा प्रमुख जनस्वास्थ्य अधिकृत रामबहादुर चन्दले जानकारी दिए ।

उनले पिसिआर र एन्टिजेन विधिमार्फत कोरोना परीक्षण गर्न लागिएको बताए । नगरमा कन्ट्रयाक्ट ट्रेसिङ कार्यलाई थप प्रभावकारी र ब्यवस्थित बनाउन लागिएको उनको भनाई छ । उनले कन्ट्रयाक्ट ट्रेसिङका लागि पाँच वटा समूह निर्माण गरिएको बताए । समूहमा रहेका स्वास्थ्यकर्मी र प्राविधिक टोलीलाई शुक्रबार अनुशिक्षण गराइएको छ ।

सो अवसरमा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धिरजंग शाहले कोरोना रोकथाम र नियन्त्रणका लागि कन्ट्रयाक्ट ट्रेसिङ अति आवश्यक रहेको बताए । कन्ट्रयाक्ट ट्रेसिङ नगर्दा कोरोना संक्रमण दर बढ्दै गएको जनस्वास्थ्य विज्ञले औँल्याएका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७८, शनिबार ०८:१०