सूचनाको शक्ति - The Power Of Information

        

दाङमा काठ बैंकप्रति दाताहरुको सहयोग बढ्दै, तीन लाख रकम संकलन

दाङ । कोरोना माहामारीबाट मृत्यु भएकाको शब दाहसंस्कारमा देखिएको समस्यालाई समाधान गर्न थालिएको काठ बैंक तथा घाट व्यवस्थापन अभियानप्रति ग्रीन तुलसीपुर क्लीन तुलसीपुरले ऐक्यवद्धता जनाएको छ । ग्रीन तुलसीपुर क्लीन तुलसीपुरका संस्थापक संयोजक विमल रिजालले अभियान सकारात्मक भएको भन्दै यसलाई निरन्तरता दिनुपर्ने सुझाव दिए ।

अभियानका अध्यक्ष देविराम कुसारीलाई फोन गर्दै संयोजक रिजालले घाट व्यवस्थान आफुले नगद तथा भौतिक सामाग्री सहयोग गर्ने बताएका छन् । अध्यक्ष कुसारीका अनुसार तुलसीपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्षसमेत रहेका रिजालले घाट क्षेत्रमा ग्रीन वेल्ट निर्माण र फोहर व्यवस्थापनमा आफुले सहयोग गर्ने आश्वासन दिएका छन् ।

त्यसैगरी संघका निवर्तमान अध्यक्ष विरबहादुर रावतले पनि अभियानलाई निरन्तरता तथा वैधानिकता दिन सहयोग गर्ने बताएका छन् । उनले आवश्यक परे अन्य सहयोग गर्ने पनि बताएका छन् । कोरोनाबाट मृत्यु भएकाको शब दाहसंस्कार गर्न समस्या भएपछि थालिएको काठ बैंक तथा घाट व्यवस्थापन समितिलाई जिन्सीमा काठ सहयोग आएको समितिका सचिव हेमराज डाँगीले जानकारी दिए ।

संघका पूर्वअध्यक्ष रिजालले ५ हजार १०० रुपैयाँ पनि सहयोग गरेका छन् । अभियानलाई तुलसीपुर वडा नंं.१२ कौवापुर घर भई हाल राष्ट्रिय किट विज्ञान तथा अनुसन्धान केन्द्र खुमलटारका किट वैज्ञानिक नरेश डाँगीले नगद ५ हजार ५५५ रुपैयाँ, तुलसीपुर वडा नं.५ का समाजसेवी नारायण शर्मा र उनकी श्रीमती कमला शर्माले २ हजार ५०१ रुपैयाँ, वडा नं.५ कै समाजसेवी राध्यश्याम उपाध्याय र छोरा अनोजले २ हजार रुपैयाँ सहयोग गरेका छन् ।

त्यस्तै दंगीशरण गाउँपालिका वडा नं.२ बंगलापुर घर भई हाल बुटवलमा बस्दै आएका युवा व्यवसायी मदन वलीले १ हजार ५१५ रुपैयाँ तुलसीपुर वडा नं.६ निवासी रिपोर्टस क्लवका अध्यक्ष शरद रेग्मीले २ हजार ५००, वडा नं.७ निवासी लिना शर्माले आफ्नो जन्मदिनको खर्च बचाएर १ हजार ५०० र दंगीशरण वडा नं.४ सुकदेवाका समाजसेवी प्रमोद गिरीले ३ हजार ३३३ रुपैयाँ सहयोग गरेको समितिका कोषाध्यक्ष हरिप्रसाद बुढाथोकीले जानकारी दिए ।

त्यसैगरी तुलसीपुर वडा नंं. ११ जसपुर घर भई हाल अमेरिका बस्दै आएका गोविन्द केसीले ५ हजार ७३१ रुपैयाँ, वडा नंं. १२ जसपुर घर भई हाल अमेरिका बस्दै आएका प्रज्वल बस्नेतले ११ हजार ७४८ रुपैयाँ, वडा नंं. १२ जसपुर घर भई हाल इजरायल बस्दै आएकी गिता शर्माले १० हजार ५५० रुपैयाँ, दंगीशरण वडा नंं. ३ घर भई हाल दक्षिण कोरिया निवासी सुवर्न वलीले २ हजार रुपैयाँ सहयोग गरेको समितिका सह–सचिव सुशील गिरीले जानकारी दिए ।

अभियानलाई तुलसीपुर वडा नंं.१३ बखरिया निवासी हाल अमेरिका बस्दै आएका समाजसेवी वसन्त रावत र हेमन्त रावतले १४ हजार, तुलसीपुर वडा नंं. ५ का समाजसेवी रुपेश शर्माले २ हजार १०५, शारदा नगरपालिका वडा नंं.१५ सल्यान निवासी समाजसेवी प्रकाश बुढाथोकीले १ हजार १०५, तुलसीपुर वडा नंं.१८ निवासी गजलकार कपिलमणि लामिछाने र करुणा वलीले वैवाहिक वर्षगाँठको उपलक्ष्यमा २ हजार ५०० रुपैयाँ सहयोग प्रदान गरेका छन् ।

त्यस्तै तुलसीपुर ६ निवासी हाल जापानमा बस्दै आएका समाजसेवी ज्योति अधिकारी र शिवराज अधिकारीले रु ५ हजार ५ रुपैयाँ, घोराही वडा नंं.१८ निवासी समाजसेवी हरिप्रसाद गौतमले स्वर्गीय धर्मपत्नीको सम्झनामा तथा छोरा प्रकाश, बुहारी सन्ध्या, र नाती सभनिक गौतमले स्वर्गीय राधा गौतमको सम्झनामा २ हजार ७२७ रुपैयाँ, दंगीशरणका राघव देवकोटाले १ हजार १०० रुपैयाँ सहयोग गरेको वरिष्ठ सदस्य शिशिर रावतले जानकारी दिए ।

त्यसैगरी अभियानलाई काठ पनि उपलब्ध भएको भएको छ । विपदमा हामी युवा समुह घोराहीले लमहीको रिहारबाट एक ट्रयाक्टर काठ ल्याएर अभियानलाई सहयोग गरेको छ । समुहका अध्यक्ष संजिव पछाइको नेतृत्वमा आएको टोलीले पत्रकार देवेन्द्र बस्नेतको रोहवरमा काठ बैंक तथा घाट व्यवस्थापन समितिलाई काठ हस्तान्तरण गरेको हो । अभियानलाई हालसम्म करिव पौने ३ लाख सहयोग भएको जनाइएको छ ।

प्रकाशित मिति : ३१ बैशाख २०७८, शुक्रबार २१:१०