सूचनाको शक्ति - The Power Of Information

        

एमाले बिवाद मिलाउन ओली सक्रिय,विष्णु पौडेल पुगे नेपाल निवास

काठमाडौं ।  एमालेभित्रको बिवाद मिलाउन प्रधानमन्त्री केपी शर्मा ओली सक्रिय भएका छन् ।

एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीले बुधवार राती बरिष्ठ नेता माधव कुमार नेपाललाई टेलिफोन गरेपनि उनको फोन उठेको थिएन । त्यसलगत्तै उनले आफु निकट एक प्रभावशाली नेतालाई उनको निवास कोटेश्वर पठाएका थिए ।

अहिले अर्थमन्त्री समेत रहेका एमाले नेता विष्णु पौडेल उनको निवास पुगेका छन् । प्रधानमन्त्री ओलीलाई प्रधानमन्त्री बन्न नदिन नेपाल समुहका सांसदले राजीनामा दिने चेतावनी दिएपछि एमालेभित्र निर्णायक पहल सुरु भएको हो ।

पौडेल प्रधानमन्त्री ओलीको सन्देश लिएर दूतको रुपमा नेपाल निवास पुगेका हुन । उनले मिल्ने विकल्पको रुपमा नेपाल पक्षसंग छलफल गरिरहेका छन् । नेपाल समुहका बहुमत नेताहरु राजीनामा दिन नहुने र एमाले विभाजन गर्न नहुने पक्षमा छन् । तर, भीम रावल,माधव नेपाल,अष्टलक्ष्मी शाक्यलगायतका नेताहरु भने पार्टी विभाजनको पक्षमा छन् ।

नेकपा एमालेका अध्यक्ष एंव सरकारका प्रधानमन्त्री ओलीले आजै ९ बजे पार्टीको स्थायी कमिटी बैठक डाकेका छन्। एमालेकै नेता माधव नेपाल पक्षमा सांसदहरुले राजीनामा दिने तयारी गरिरहेका बेला अध्यक्ष ओलीले स्थायी कमिटी बैठक बोलाएका हुन । यद्यपी नेपाल समुहमा राजीनामा दिने सांसदहरु १० जना नकटेको स्रोतको दावी छ । जसले गर्दा माधव नेपाल अफ्ठेरोमा परेका छन् ।

आजको बैठकमा पछिल्लो राजनीतिक अवस्थाको बारेमा छलफल हुने बताइएको छ । संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको बहुमतको सरकार बनाउन राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समय आज सकिंदैछ

प्रधानमन्त्री ओलीले वैशाख २७ गते प्रतिनिधि सभामा भएको मतदानमा विश्वासको मत गुमाएका थिए । उनले जम्मा ९३ मत पाएका थिए । जसपाको महन्थ ठाकुर पक्ष भने तटस्थ रहेको थियो । प्रधानमन्त्रीको विपक्षमा १२४ मत पाएको खसेको थियो ।

राष्ट्रपति भण्डारीले दलहरूलाई मिलेर बहुमतको सरकार बनाउन आज सांझ ९ बजेसम्मको समय दिएकी थिइन्। तर, नेपाली कांग्रेस, माओवादी केन्द्र र जसपाभित्रको उपेन्द्र यादव पक्षले अहिलेसम्म बहुमत जुटाउन सकेका छैनन । बुधवार दिनभित्र दलहरुका बीचमा प्रयास भएपनि उनिहरुको कोशिस असफल भएको थियो ।

प्रधानमन्त्रीको लागी प्रयास गरिरहेका कांग्रेस सभापति शेरबहादुर देउवा नेपाल पक्षका २० जना सांसद नपुगेको र जसपाबाट २० जना सांसद आफुलाई समर्थन गर्न बुधवार सांझसम्म पनि तयार नभएपछि प्रधानमन्त्रीको दौडबाट पछाडी हटेको स्रोतको दावी छ ।

आज राती ९ बजेसम्म तीन दलले बहुमत जुटाउन नसकेको अवस्थामा संविधानको धारा ७६ को ३ अनुसार संसदको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताका हैसियतमा ओलीले नै फेरि प्रधानमन्त्री नियुक्त हुनेछन्। त्यसपछि उनले ३० दिनभित्र संसदमा बहुमत जुटाउनुपर्नेछ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार १०:१२