सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

प्लाज्मा दानका लागि प्रेरणा बनिन् ‘माधवी’

उनी गत वर्ष १५० जना र यस वर्ष ३६ जनाको प्लाज्मा दान गराउन सफल भएकी छन् ।

बाँके । गम्भीर अवस्थाका कोरोना सङ्क्रमितलाई प्लाज्मा चाहिएमा माधवी शाहलाई सम्पर्क गर्ने गरिएको छ । गत वर्षदेखि नै शुल्क नलिई गम्भीर अवस्थाका सङ्क्रमितका लागि प्लाज्मा खोज्ने काममा जुटेकी नेपालगन्ज–१२ निवासी शाहले हालसम्म १८६ जना बिरामीका लागि प्लाज्माको व्यवस्था गरिदिएकी छन् ।

प्लाज्मा व्यवस्था गरेका मध्ये १५० जनाको ज्यान जोगिएको छ । बाँकेको डुडवा गाउँपालिकास्थित एक माध्यमिक विद्यालयकी महिला शिक्षक शाह गत वर्ष आफू पनि सङ्क्रमित भएर २८ दिन थला परिन् । उनी निको भएपछि एक जना सङ्क्रमितलाई प्लाज्मा दिन आफू ब्लड बैङ्क पुगे पनि बच्चाको आमाले दिन नमिल्ने जनाएपछि निकै निराश भएको र त्यसपछि प्लाज्मा खोजेर सहयोग गर्ने अठोटका साथ लागेको बताइन् ।

उनले स्वाब सङ्कलनमा सहयोग गर्दा सङ्क्रमित हुनेको सूची आफूसँंग राख्ने र २८ दिनपछि उनीहरूलाई सम्पर्क गरेर प्लाज्मा दानका लागि तयार रहन आग्रह गर्ने गरेकी छन् । उनले सुनाइन्, ‘सुरुमा प्लाज्मा दानका लागि तयार पार्न निकै कठिन भयो । कतिपयले आफू बिरामी भएको बताउने, कतिपयका परिवारले दान गर्न नदिने अवस्था थियो ।’ उनी गत वर्ष १५० जना र यस वर्ष ३६ जनाको प्लाज्मा दान गराउन सफल भएकी छन् ।

शाहले केही दिनअघि पूर्वप्रधानमन्त्री झलनाथ खनालका लागि पनि प्लाज्मा व्यवस्था गर्ने जिम्मा आफूलाई आएको बताउँदै भनिन्, ‘सङ्कलन गरिएको प्लाज्मा उहाँलाई दिइयो वा दिइएन भन्ने बारेमा थाहा भएन ।’ उनले बाँकेका साथै दाङ, धनगढी, बर्दिया र काठमाडौँसम्मका सङ्क्रमितका लागि प्लाज्मा दिलाउने काम गर्दै आएकी छन् । उनले प्लाज्मा दानलाई सहज र प्रभावकारी बनाउन पहिले प्लाज्मा दानका लागि गरिने पीसीआर र एन्टिबडी परीक्षण निःशुल्क गरिनुपर्ने सल्लाह दिइन् ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार १०:१२

सिफारिस