सूचनाको शक्ति - The Power Of Information

        

बङ्गलादेशबाट आइपुग्यो ३२ हजार डोज ‘रेम्डेसिभिर’

काठमाडौं । मित्र राष्ट्र बङ्गलादेशबाट कोरोना सङ्क्रमितको उपचारमा प्रभावकारी मानिएको ‘रेम्डेसिभिर’ औषधि आइपुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले बङ्गलादेशबाट ‘रेम्डेसिभिर’ औषधि ३२ हजार डोज नेपाल आइपुगेको जानकारी दिए ।

हिमालयन एयरलाइन्सबाट सो औषधि नेपाल आइपुगेको हो । सो औषधिलाई भण्डारण नगरी यथाशीघ्र अस्पतालहरूमा पठाइने प्रवक्ता गौतमले स्पष्ट पारे । यसअघि बङ्गलादेशबाट २९ हजार डोज सो औषधि नेपाल आएको थियो । बङ्गलादेशबाट सो औषधि जम्मा एक लाख २५ हजार डोज ल्याइनेछ । बङ्गलादेशको बेक्सिम्को फार्मेसिस्ट लिमिटेडले सो उत्पादन गरेको हो ।

बङ्गलादेशका लागि नेपाली राजदूत डा.वंशीधर मिश्रलाई बङ्लादेशका विदेशमन्त्री डा.एके अब्दुल मोमेन र स्वास्थ्य तथा परिवार कल्याणमन्त्री जाहिद मल्लिकले मङ्गलबार सो औषधि हस्तान्तरण गरेका थिए । प्रवक्ता गौतमले ‘रेम्डेसिभिर’को मूल्य चार हजार ९०० रुपैयाँ निर्धारण गरिएको र बिरामीका लागि सोही मूल्यमा उपलब्ध हुने जानकारी दिए ।

मन्त्रालयले कोभिड–१९ को उपचार गर्ने क्रममा अस्पतालबाट चिकित्सकहरूले रेम्डिसिभिर औषधि सिफारिस गरेमा आधिकारिक आयातकर्ता आयन हेल्थ केयरले ल्याएको ‘रम्डेसिभिर’ मात्रै प्रयोग गर्न भनेको छ । मन्त्रालयका अनुसार ‘रेम्डेसिभिर’ खरिद गर्न जाने व्यक्तिले आफ्नो परिचय पत्रसहित सम्बन्धित कोभिड अस्पताल वा सम्बन्धित चिकित्सकको ‘प्रेस्क्रिप्सन’ लिएर जानुपर्नेछ ।

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार ०९:५२