सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश ५ मा मुख्यमन्त्री नियुक्त गर्ने तयारी

बुटवल । प्रदेश नम्बर ५ मा आज मुख्यमन्त्री नियुक्त गर्ने तयारी भएको छ । एमाले संसदीय दलका नेता शंकर पोखरेलले हिजो मध्यान्ह प्रदेश प्रमुखको कार्यालयमा औपचारिक पत्र दर्ता गरेपछि आज मुख्य मन्त्री नियुक्तिको तयारी भएको हो ।
मुख्यमन्त्रीको सपथ कार्यक्रम भने फागुन ३ गतेमात्रै हुनेछ । एक गते सार्वजनीक बिदा र २ गते सभामुखको चुनाव भएकाले ३ गते सपथग्रहणको कार्यक्रम राख्ने तयारी भएको एमाले प्रमुख सचेतक भुमीश्वर ढकालले बताए । मुख्यमन्त्रीको नियुक्ति लगत्तै बामगठबन्धनले ३ सदस्यीय मन्त्रीमण्डल घोषणा गर्नेछ ।
यसैबीच, माओवादी केन्द्रले प्रदेश ५ को संसदीय दलको नेतामा रुकुमका कुलबहादुर केसी चयन गरेको छ । प्रदेशस्तरीय संसदीय दलको हिजो अबेरसम्म बसेको बैठकले केसीलाई सर्वसहमत चयन गरेको हो । यस्तै रुकुमका पूर्णबहादुर घर्तीमगरलाई सभामुखको उम्मेदवार बनाउने निर्णय गरेको छ ।
सो प्रदेशमा माओवादीले सभामुख पाउने पक्का छ । आगामी बुधबार औपचारिक रुपमा सभामुख चयन गर्ने कार्यतालिका छ । प्रमुख सचेतकमा रुपन्न्देहीका दधिराम न्यौपाने चयन भएका हुन् । सचेतकमा भने दाङकी दामा शर्मालाई छनोट गरेको पोलिटब्युरो सदस्य दधिराम न्यौपानेले जानकारी दिए ।

प्रकाशित मिति : २९ माघ २०७४, सोमबार ०८:३०