सूचनाको शक्ति - The Power Of Information

        

कोरोना महामारी

अहोरात्र सेवा खटिन्छन् ‘कोभिड हिरो’ नरेशबाबु

जटिल बिरामीलाई नेपालगन्जमा बेड मिलाइदिन्छन् । कोरोना संक्रमितको ज्यान गएपछि शव व्यवस्थापनमा पनि उनलाई भ्याइनभ्याइ हुन्छ ।

बर्दिया । अहिले देश विषम परिस्थितिमा गुज्रिरहेको छ । यस अवस्थामा हरेक नागरिकले महामारी नियन्त्रणका लागि आफ्नो स्थानबाट सहयोग गर्नु आवश्यक हुन्छ । तर, महामारी नियन्त्रणमा अहिले स्वास्थ्यकर्मी भागवान् सावित भएका छन् । संक्रमितको उपचार, बिरामीलाई हौसला प्रदान गर्नु, ज्यान गुमाएकाहरूको शव व्यवस्थापनलगायत काममा स्वास्थ्यकर्मी अग्रपंक्तिमा रहेर काम गरिरहेका छन् । त्यसमध्येका एक हुन्, बर्दियाका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठ ।

देशमा पहिलो चरणको कोरोना महामारी फैलँदा उनले पुर्याएको योगदानको उच्च कदर गर्दै उनलाई ‘कोभिड हिरो’को उपाधि प्रदान गरियो । अहिले उनी बर्दियावासीका लागि वास्तविक कोभिड हिरो सावित भएका छन् । कोरोना महामारी फैलिएको समयमा सुरुका दिनमा भिटिएमको अभावको बेला १० वटा भिटिएम लिन आफैँ दाङ र बुटवल गई ल्याएर शंकास्पद बिरामीको स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, टेकु पठाउने र सोको रिपोर्टसमेत ल्याउने व्यवस्था श्रेष्ठले मिलाए ।

चैत ११ को लकडाउनपश्चात यस क्षेत्रबाट प्लेनमा भिटिएम पठाउने समन्वयसमेत श्रेष्ठलाई तोकिएकोले सुदूरपश्चिमको धनगढी, कर्णाली प्रदेशको सुर्खेत र दाङ जिल्लाका अस्पतालबाट संकलन गरिएका स्वाब जहाजमार्फत काठमाडौं पठाउने व्यवस्थापन उनले २४ सैं घण्टा खटिएर काम गरे । पहिलो चरणमा उनले बाहिर जिल्लाबाट सिकिस्त भई नेपालगन्जका नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल लगायतमा उपचारका लागि आउने बिरामीको बेड व्यवस्थापनका लागि काम गरे ।

दैनिक आइसोलेसन अस्पतालमा गई वा खाली बेडको तथ्यांक तयार गरी बाहिरी जिल्लाबाट आउने बिरामीलाई भर्नाका लागि २४ सै घण्टा खटिएर अस्पतालमा बिरामी भर्नाको समस्या आउन दिएनन् । आर्थिक अभावका कारण पिसिआर जाँच गर्न नसक्ने, आइसोलेसनमा बस्न नसक्ने, एम्बुलेन्सबाट आउन नसक्ने बिरामीका सम्बन्धमा जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र (डिसिएमसी)मा योजना तयार गरी पिसिआर जाँच, एम्बुलेन्समा ल्याउने र आइसोलेसनमा निको नहुँदासम्म बसाउने व्यवस्थापन गरे । त्यतिबेला बाँकेवासीका लागि श्रेष्ठले पुर्याएको योगदान बाँकेका स्थानीयले अझै सम्झिरहेका छन् ।

अहोरात्र सेवामा

बाँकेको कोरोना फोकल पर्सनका रूपमा काम गरिसकेका श्रेष्ठ अहिले बर्दियामा कार्यरत छन् । दोस्रो चरणको महामारी नियन्त्रणमा आफ्नो ज्यानको कत्ति पनि प्रवाह नगरी उनी अहोरात्र लागिरहेका छन् । स्थानीयको स्वास्थ्यलाई लिएर श्रेष्ठले निर्वाह गरेको जिम्मेवारीको बर्दियावासीले मुक्तकण्ठले प्रशंसा गरिरहेका छन् । कोभिड हिरो श्रेष्ठ बर्दियामा रहेसम्म उपचार नपाएर ज्यान गुमाउनु नपर्नेमा बर्दियाबासी विश्वस्त छन् ।

निरन्तर रुपमा कोभिड महामारी व्यवस्थापनमा सक्रिय भएर भूमिका निर्वाह गरेका उनीसहित उत्कृष्ट तीन कर्मचारीलाई एकाउन्टबिलिटी ल्याब काठमाडौंले हिरो घोषित गरेको थियो । कोभिड–१९ को समयमा देशैभरिबाट कोभिड रोकथाम तथा नियन्त्रणमा उत्कृष्ट कार्य गर्ने स्वास्थ्य कर्मचारीमध्ये श्रेष्ठ कोभिड हिरो घोषित भएका थिए । अहिले उनले बर्दियाका कोरोना संक्रमितको उपचारमा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । प्रदेश नम्बर ५ को पुछारमा रहेको बर्दिया जिल्ला विविध सुविधाबाट पछाडि छ । बर्दियाका हरेक बिरामी उपचारका लागि बाँकेको भर पर्नुपर्ने अवस्था छ ।

बर्दियाका बिरामीलाई सहज उपचार

अहिले बाँकेका भेरी अस्पताल, शिक्षण अस्पताल लगायतका स्थानका कोभिडका बिरामीले अस्पताल भरिभराउ छन् । बेड अभावमा बिरामीलाई सहजरूपमा स्वास्थ्य सेवा प्रदान गर्न सक्ने अवस्था छैन । यस्तो अवस्थामा पनि बर्दियाका बिरामीले सहज रूपमा उपचार पाइरहेका छन् । कोरोना फोकल पर्सन श्रेष्ठले अहिले बर्दियाका बिरामीलाई अस्पतालमा बेड मिलाउन सहजीकरण गरिरहेका छन् । उनी बाँकेसँग सहकार्य गरेर जटिल प्रकृतिका बिरामीलाई उपचारमा सहयोग गर्दै आएका छन् । बाँकेले बेड खाली छैन भनेको अवस्थामा बर्दियाका जटिल प्रकृतिका बिरामीको ज्यान जाने पनि अवस्था छ, बर्दियासँग त्यसको कुनै विकल्प छैन । तर, फोकल पर्सन श्रेष्ठले अहिले त्यसको व्यवस्था गरिरहेका छन् ।

उनी बाँकेमा यसअघि कोरोना फोकल पर्सनको रुपमा काम गरेको भएर पनि त्यसमा केही सहज भएको छ । बर्दियाका विभिन्न सरोकारवाला व्यक्तिसँग सहकार्य गरेर जटिल प्रकृतिका बिरामीको हकमा नेपालगन्जमा बेड खाली भए नभएको निश्चित गरेपछि बिरामीलाई अस्पताल लिइन्छ । श्रेष्ठको पहलमा नेपालगञ्ज रेफर गरिएका बिरामीले उपचार नपाएर ज्यान गुमाउनुपरेको छैन । कारोना महामारी नियन्त्रणमा लागिरहँदा दैनिक ३ घण्टा मात्रै सुत्ने गरेको उनको अनुभव छ । उनी भन्छन्, ‘महामारी नियन्त्रणमा आफ्नो जिम्मेवारी पूरा गरिरहेको छु ।‘

उनलाई बिरामीको उपचार, संक्रमितको विवरण तयार पार्ने चटारो त छँदैछ अर्कोतर्फ बिरामीलाई स्वास्थ्य परामर्श दिने र सञ्चारमाध्यमलाई सही तथ्यांक प्रदान गर्ने जिम्मेवारी पनि उनको भएकाले उनलाई अहिले एकछिन पनि फुर्सद छैन । उनको बर्दिया सरुवा भएपछि अहिले बाँकेमा तेज वलीलाई फोकल पर्सन तोकिएको छ । बर्दियाका नरेशबाबु श्रेष्ठ र बाँकेका तेज वलीले अहिले बाँके बर्दियासहित अन्य जिल्लाबाट बाँकेमा उपचारका लागि पुग्ने बिरामीको उपचारमा सहजीकरण गरिरहेका छन् ।

शव व्यवस्थापनमा भ्याइनभ्याई

यस्तै, कोरोना संक्रमितको ज्यान गएपछि उनीहरूको शव व्यवस्थापनमा पनि भ्याइनभ्याइ भएको उनले बताए । केही दिनअघि जिल्ला प्रशासन कार्यालय बर्दियाले कोभिडका बिरामीको थप उपचारका लागि अस्पताल भर्ना र समन्वय तथा सहजीकरण गर्ने जिम्मेवारी कोभिड फोकल पर्सन श्रेष्ठलाई तोक्यो ।

कोभिडका जटिल प्रकृतिका बिरामीहरू दिनप्रतिदिन बढिरहेको अवस्थामा बिरामीलाई कोहलपुर, नेपालगन्जका भर्ना तथा उपचारका लागि समन्वयको जिम्मेवारी आफूलाई तोकेको भन्दै उनले जिल्ला प्रशासन कार्यालयलाई धन्यवाद दिए । उनले भने, ‘कठिन परिस्थितिमा जो जहाँ भए पनि हरेक नागरिकले सहयोग गर्नु सबैको कर्तव्य हो । आफूले सक्ने सहयोग गर्न बर्दियामा मात्रै नभएर बाँके र अन्य जिल्लाबाट आउने बिरामीलाई सहयोग गर्न म सधैँ प्रतिबद्ध छु ।‘ महामारी नियन्त्रणमा अहोरात्र लागिरहने उनले बताएका छन् । –थाहा खबरबाट

प्रकाशित मिति : ३० बैशाख २०७८, बिहीबार ०८:५१

सिफारिस