सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश ५ मा सरकार गठनको अन्तिम तयारी


बुटवल । सरकार गठनको अन्तिम तयारीमा जुटेको प्रदेश ५ ले फागुन ३ गते सानो आकारको मन्त्रीमण्डल पाउने भएको छ । एमालेका शंकर पोखरेल मुख्यमन्त्री बनेको प्रदेश ५ मा माओवादीको नेतृत्व कृष्णध्वज खड्काले गर्ने सम्भावना छ । माओवादीले प्युठानका खड्काको नाम टुंगो लगाइसकेको छ भने एमालेले नवलपरासीका बैजनाथ चौधरीलाई पहिलो चरणमा सरकारमा पठाउने स्रोतले बतायो ।
राजनीतिक दलहरुमा संसदीय दलको नेता वा उपनेताले सरकारको नेतृत्व गर्ने परम्पराजस्तै बनेको छ । यसअघि केपी ओली नेतृत्वको सरकारमा माओवादी संसदीय दलका उपनेता टोपबहादुर रायमाझीले पार्टीको नेतृत्व गरेका थिए । त्यसअघि पनि कांग्रेसका तत्कालीन उपनेता प्रकाशमान सिंहले सरकारको नेतृत्व गरेका थिए । सोही आधारमा खड्काले सरकारको नेतृत्व दावी गरेको स्रोतले बतायो ।
प्रदेश ५ मा सुरुमा तीनजना मन्त्रीले फागुन ३ गते शपथ लिने तयारी छ । सडक बिभागको प्रदेश प्रमुखको निवास अगाडि फागुन ३ गते शपथ हुनेछ । शपथपछि सोही दिन नै पदभार ग्रहण गर्ने तयारी छ । प्रदेशमा ५ मा ७ मन्त्रालय मात्र रहने छन् । माओवादीले तीन मन्त्रालयमा दावी गरेको छ । तर माओवादीका प्रमुख सचेतक दधिराम न्यौपाने (एमएस)ले सरकारमा माओवादीको नेतृत्व कसले गर्ने भन्ने विषय छलफलकै क्रममा रहेको बताए ।
‘हामी लगभग टुंगोमा पुगिसकेका छौं, केही कुरा एमालेसँग मिल्न बाँकी छ,’ उनले भने, ‘हामीले मन्त्रिपरिषदमा पठाउने ब्यक्ति छनौट गर्ने जिम्मा संसदीय दलको नेता र उपनेतालाई दिएका छौं ।’ माओवादी संसदीय दलको नेतामा कुलप्रसाद केसी ‘सोनाम’ चुनिइसकेका छन् । उपनेताको जिम्मेवारी कृष्णध्वज खड्काले पाएका छन् । आइतबार राति अबेर सम्पन्न माओवादी प्रदेश ५ संसदीय दलको बैठकले पुर्ण घर्ती ‘आयाम’लाई सभामुख बनाउने निर्णय गरेको छ ।
प्रमुख सचेतकमा रुपन्देहीका दधिराम न्यौपाने (एमएस) र सचेतकमा दाङकी दामा शर्मालाई चयन गरिएको छ । यसैगरी माओवादी संसदीय बोर्डको सचिवको जिम्मेवारी पाल्पाका तुलाराम घर्ती (बसन्त)ले पाएका छन् । संसदीय दलको नेता अध्यक्ष हुने बोर्डले सरकार र संसदीय दलबीच समन्वयको काम गर्दछ ।

प्रकाशित मिति : २९ माघ २०७४, सोमबार ०७:२३