सूचनाको शक्ति - The Power Of Information

        

भारतको गंगा नदीमा झण्डै एक सय जनाको शव भेटियो

काठमाडौं । भारतको गङ्गा नदीमा कम्तीमा एक सय जनाको शव भेटिएको छ । नदीमा एकैपटक ठूलो सङ्ख्यामा शव भेटिएको र ती शव कोरोना सङ्क्रमणबाट ज्यान गुमाएकाहरुको हुन सक्ने अनुमान छ ।

उत्तर प्रदेश सरकारले भने ४० जनाको शव भेटिएको र तीनीहरुले के कारणले ज्यान गुमाएका हुन् भन्ने अनुसन्धान भइरहेको बताएको बीबीसीले जनाएको छ । स्थानीयबासिन्दाले नदीमा अझै पनि शव देखिएको बताएका भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाएका आफन्तको शवको अन्तिम संस्कार गर्न समस्या भोग्नुपरेको खबरहरु यसअघि नै आएका थिए । कतिपय शव अन्तिम संस्कारमा भएको समस्याले नदीमा बगाइएको हुन सक्ने र केही नदी किनारमा शव जलाउने क्रममा नजलिकन बगाइएको हुन सक्ने स्थानीयबासीन्दाले बताएका छन् ।

यसैबीच भारतमा दैनिक कोरोना सङ्क्रमण र मृत्युदर केही घटेको छ । केही दिनदेखि दैनिक लगातार चार लाख भन्दा धेरैमा सङ्क्रमण देखिँदै आएकोमा पछिल्लो २४ घण्टामा तीन लाख २९ हजार पाँच सयमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

यस्तै एक दिनमा तीन हजार आठ सय ७९ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : २८ बैशाख २०७८, मंगलवार ०७:०९