सूचनाको शक्ति - The Power Of Information

        

प्रतिनिधिसभा बैठक

प्रधानमन्त्रीले भने, ‘संसद जोगाउने भए मत दिनुस्’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद जोगाउने भए आफूलाई मत दिन आग्रह गरेका छन् । विश्वासको मत माग्ने प्रस्तावमा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । ‘साथीहरुलाई संसद विघटन होला कि भन्ने चिन्ता छ, उनले भने मत दिनुस् न कसरी विघटन हुन्छ ? आफैं मत नदिइ नदिइ विघटनतिर धकेल्ने अनि अर्कालाई अपजस लगाउने ?

उनले स्थिरताको पक्षमा काम गर्न र संविधानको मर्म अनुसार पाँच वर्ष सरकार टिक्ने वातावरण बनाउन पनि आग्रह गरे । ‘भाषा एउटा काम अर्को, कुरा एउटा व्यवहार अर्को नगरौं, मुद्दा लडेर ल्याएको संसद बचाऔँ न !’ उनले भने, ‘भोट दिऔं । तर काम चाहिँ अर्को भएपछि मैले गरूँ के ?’ यस्तै ओलीले आफ्ना अभिव्यक्तिलाई बङ्ग्याएर गलत राजनीतिक प्रचार गरिएको बताए । मधेस आन्दोलनलाई ‘माखे साङ्लो’ भनेको भनी जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले लगाएको आरोपको खण्डन गरे ।

‘नेपालको राजनीति माखे साङ्लो जस्तो भयो भनेको थिएँ । मान्छेलाई माखा भन्यो भनेर हल्ला चलाइयो । मैले त्यतिबेलै स्पष्ट पारे । माखे साङ्लो भनेको झिँगाको साङ्लो होइन । एक प्रकारको यन्त्र हो, त्यो जटिल हुन्छ,’ ओलीले भने । यस्तै अर्को प्रसंगमा ओलीले भने,‘मैले केही आँप झरेर बोट खाली हुँदै भनेको थिएँ । मरेका शहीदलाई दुई–चार आँप झर्यो भन्यो भनेर तराईमा झूठो प्रचार गरियो । यस्तो छुद्र राजनीति नगरौं ।’ धरहरा बनेको छैन भन्ने सांसदलाई ओलीले भोलि नै गएर धरहरामा चढेर हेर्न पनि सुझाए ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार १७:०९