सूचनाको शक्ति - The Power Of Information

        

बाँकेमा फेरि एक हप्ता निषेधाज्ञा थपियो

बाँके । तीव्ररुपमा फैलिएको कोरोना भाइरस नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधाज्ञा थप गरेको छ । कोरोना भाइरस संक्रमणको दोस्रो लहर सुरु भएपछि गत वैशाख ९ पहिलो पटक बाँकेको नेपालगन्ज उपमहानगरपालिका क्षेत्रमा मात्र लकडाउन जारी गरिएको थियो ।

एक हप्ताका लागि जारी गरिएको उक्त लकडाउनकै अवधिमा जिल्लामा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि दोस्रो पटकमा जिल्लाभर निषेधाज्ञा जारी गरेको थियो । सो अवधि सकिएपछि पुनः जिल्ला प्रशासन कार्यालय बाँकेले वैशाख २७ गते (आज)सम्म जिल्लाभर निषेधाज्ञा जारी गरेको थियो ।

तेस्रो चरणमा बढाइएको निषेधाज्ञाको अवधी आज राती १२ बजेबाट सकिदै गर्दा जिल्लामा कोरोना संक्रमित र कोरोनाबाट ज्यान गुमाउनेको संख्या बढ्दै गएपछि पुनः निषेधाज्ञाको अवधि बढाइएको छ । जिल्ला प्रशासान कार्यालय बाँकेले सोमबार एक सार्वजनिक सूचना जारी गर्दै आगामी जेठ ३ गते मध्यरातीसम्मका लागि निषेधाज्ञा थप गरिएको हो ।

बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालद्वारा जारी आदेश अनुसार निषेधाज्ञा अवधिभर अत्यावश्यक कामबाहेक हिँडडुलमा समेत निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालयको यस्तो आदेश अवेज्ञा गर्ने वा काममा बाधा पुर्याउनेलाई संक्रामक रोग ऐन २०२०, स्थानीय ऐन २०२८ बमोजिम कारबाही गरिने प्रजिअ गेलालले जानकारी दिए ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार १६:५६