सूचनाको शक्ति - The Power Of Information

        

समाचार

प्रधानमन्त्री ओलीले आज विश्वासको मत लिँदै, एमालेमा ह्वीप, जसपा तटस्थ

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदबाट आज विश्वासको मत लिने भएका छन् । आज दिउँसो १ बजे बस्ने बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिन लागेका हुन् । सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र ब्यूँतिएर माओवादी केन्द्रले औपचारिक रुपमा समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा छ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने निर्णय गरेपछि नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएको थियो । प्रधानमन्त्री ओलीले आफूमाथि संसदको विश्वास छ वा छैन भन्ने यकिन गर्न जुनसुकै बेला विश्वासको मत लिन सक्छन् । २७५ सदस्यीय प्रतिनिधिसभामा हाल २७१ जनामात्र सांसद छन् ।

एमालेकै नेपाल खनाल पक्ष, नेपाली काँग्रेस र माओवादी केन्द्र पनि ओलीको विपक्षमा उभिएका छन् । सरकारलाई निरन्तरता दिन प्रधानमन्त्रीलाई १३६ भोट चाहिन्छ । तर एमालेकै नेपाल खनाल पक्षका कम्तीमा ३० सांसद ओलीको विपक्षमा छन भने ओलीविरुद्ध लाग्ने निर्णय गरीसकेको जसपाको उपेन्द्र यादव पक्षमा १८ देखि २२ सांसद रहेको बताइएको छ । महन्थ ठाकुरका पक्षमा १० देखि १४ जना सांसद रहेको बताइएको छ ।

यही अवस्थामा प्रधानमन्त्रीले विश्वासको मत नपाउने प्रष्ट देखिन्छ । संसद कांग्रेसका ६२, माओवादी केन्द्रका ४९, राप्रपा, नेमकिपा र राष्टिय जनमोर्चाका एक एक जना सांसद छन । नेपाली काँग्रेस र जनता समाजवादी पार्टीका २–२ जना निलम्बित छन् । निलम्बित सांसदले मतदान गर्न पाउँदैनन् । नेपाली काँग्रेसले सरकारलाई विश्वासको मत नदिने र आफ्नै नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरिसकेको छ ।

ह्वीप जारी

नेकपा एमालेले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ । एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले एमाले सांसदहरूलाई पत्र लेखेर सोमबारको प्रतिनिधिसभा बैठकमा अनिवार्य उपस्थित भई प्रधानमन्त्रीको विश्वासको मतको पक्षमा मत दिन आग्रह गरेका छन् ।

पर्ख र हेरको रणनीतिमा माधव समूह

सत्तारुढ नेकपा (एमाले) माधवकुमार नेपाल समूहले पार्टी एकताका लागि सोमबार बिहान ९ बजेसम्मको समय दिएको छ । आइतबार साँझ सिंहदरबारमा बसेको नेपाल समूहका सांसदको बैठकले सोमबार बिहान ९ बजेसम्मको समय दिएको माधव–खनाल समुहका नेता योगेश भट्टराईले जानकारी दिए ।

पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा फर्काएर पार्टीको संगठनलाई एकतापूर्वको अवस्थामा लानुपर्ने नेपाल समूहको प्रमुख माग रहेको छ । पार्टीलाई सर्वोच्चको फैसलापछि पुरानै अवस्थामा फर्काए सोमबार संसदको विशेष अधिवेशनमा प्रधानमन्त्रीलाई विश्वासको मत दिने र त्यो नगरी पेल्ने क्रियाकलाप भए फरक निर्णय हुने उनको चेतावनी छ ।

एमालेमा माधव पक्षका प्रत्यक्ष निर्वाचित २२ र समानुपातिक १२ जना सांसद छन् । उनीहरूले आफ्नो राजीनामा पत्रमा तयार पारेका छन् । यो छलफलसँगै राजीनामा अहिलेलाई रोकिएको छ । फागुन २८ मा अध्यक्ष ओलीले आफूनिकट नेताहरुलाई बालुवाटारमा बोलाएर पार्टी विधान संशोधन गर्दै माधव नेपाल लगायतका नेताहरूको जिम्मेवारीबाट हटाउँदै निष्काशन गरेका थिए ।

जसपाले मत नदिने

संसदको चौथो ठूलो दल जनता समाजवादी पार्टीले एकता जोगाउन प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध संसदमा पक्ष वा विपक्षमा भोट हाल्न सांसदहरुलाई ह्वीप नलगाउने निर्णय गरेको छ । प्रतिनिधिसभा मतदान हुँदा जसपाका सांसदहरुले स्वविवेक प्रयोग गर्न पाउने छैन । पार्टी पदाधिकारीको बैठकले सांसदहरुलाई ह्वीप नलगाउने निर्णय गरेको हो ।

आइतबार बिहान महन्थ ठाकुर र राजेन्द्र महतोले प्रधानमन्त्री ओली र नेपाली कांग्रेस सभापति शेरबहादुर देउवालाई छुट्टाछुट्टै भेटेर तटस्थ बस्ने बताएका थिए । र, बैठकमा पनि तटस्थ बस्ने प्रस्ताव गरेका थिए । तर संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराई केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले विश्वासको मत माग्ने प्रस्तावको विपक्षमा मत दिनुपर्ने धारणा अडान राखेका छन् ।

त्यसैले मध्यमार्गी सहमति खोजेर ह्वीप नलगाउने निर्णय भएको हो । सांसदहरुलाई स्वविवेक प्रयोग गर्ने दिने भन्दै भट्टराई यादव पक्षका नेता राजेन्द्र श्रेष्ठले तटस्थ बस्न चाहनेले तटस्थ बस्न पाउने भन्दै आफूहरुले विपक्षमा मतदान गर्ने जानकारी दिए । एमाले र माओवादी केन्द्र पुनःथापित भएपछि संसदको अंक गणितमा निर्णायक बनेको जसपा दुई खेमामा विभाजित थियो ।

संघीय समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव पक्ष नयाँ सरकार गठनको पक्ष रहेका छन् भने महन्थ ठाकुर र राजेन्द्र महतो पक्ष प्रधानमन्त्री ओलीका पक्षमा रहेका छन् । तर पार्टीभित्र अल्पमतमा परेपछि ठाकुर र महतो तटस्थ बस्ने निर्णयमा पुगेका हुन् ।

कोरोना संक्रमित सांसदले पनि मतदान गर्न पाउने

संसदका कार्य व्यवस्था समितिले कोरोना संक्रमित सांसदले पनि विश्वासको मत लिने प्रस्तावमा भोट दिन पाउने व्यवस्था गरेको छ । आइतबार बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकले संक्रमित सांसदले भोट दिन पाउने व्यवस्था गरेको संसद सचिवालयले जनाएको छ ।

बैठकका लागि गरिएको पीसीआर परीक्षणमा २८ जना सांसदमा कोरोना संक्रमण पुष्टि भएको छ । ती सांसदलाई स्वास्थ्यकर्मीको रोहबरमा एम्बुलेन्सबाट बैठकस्थलमा लगिनेछ । अहिलेसम्म पिसिआर नगरेका सांसदहरुलाई पिसिआरका लागि आग्रह गर्ने र रिपोर्टका आधारमा सुरक्षित रुपमा मतदानमा सहभागी गराइनेछ ।

संसदको कार्यसूची

संघीय संसद सचिवालयले प्रतिनिधि सभाको सोमबारको सम्भावित कार्यसूची प्रकाशित गरेको छ । सोमबार प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिने कार्यक्रम रहेको छ । प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले एक सूचना जारी गर्दै सम्भावित कार्यसूचीबारे जानकारी गराएका छन् ।

जसअनुसार सोमबार दिनको १ बजे सुरु हुने बैठकको सुरुमा सभामुखले राष्ट्रपतिबाट प्राप्त अधिवेशन आह्वानसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने छन् । सभामुखले प्रतिनिधि सभा नियमावली, २०७५ को नियम १० को उपनियम (१) बमोजिम अध्यक्षता गर्ने सदस्यहरुको मनोनयन गर्नेछन् ।

प्रकाशित मिति : २७ बैशाख २०७८, सोमबार ०७:४३