सूचनाको शक्ति - The Power Of Information

        

भारतमा चौथो दिन पनि थपिए ४ लाखभन्दा बढी संक्रमित

काठमाडौं । भारतमा लगातार चौथो दिन चार लाखभन्दा बढी कोरोनाभाइरस संक्रमित थपिएका छन् भने चार हजारभन्दा बढी संक्रमितको मृत्यु भएको छ।

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा चार लाख नौ हजार ३०० संक्रमित थपिएका छन्। योसँगै सक्रिय संक्रमितको संख्या बढेर ३७ लाख ४२ हजार १५ पुगेको छ।

अहिलेसम्म भारतमा दुई करोड २२ लाख ९५ हजार ९९१ जनामा कोरोना पुष्टि भइसकेको छ। भारतका झण्डै ४० प्रतिशत क्षेत्र अर्थात ३०१ जिल्लामा संक्रमण दर २० प्रतिशत देखिएको छ।

यो भनेको पाँच जनाको स्वाब परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि भइरहेको छ। अझ १५ जिल्लामा त संक्रमण दर ५० प्रतिशत देखिएको छ। अर्थात दुई जनाको स्वाब परीक्षण गर्दा एक जनामा संक्रमण पुष्टि भएको छ।

कोरोना संक्रमण बढेसँगै मृत्यु हुनेको संख्या पनि दिनदिनै बढिरहेको छ। पछिल्लो २४ घण्टामा चार हजार १३३ जनाको मृत्यु भएको छ। चार हजारभन्दा बढीको मृत्यु भएको आज दोस्रो दिन हो।

योसँगै भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख ४२ हजार ३९८ पुगेको छ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतवार ०८:०६