सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

कोरोना महामारी नियन्त्रण गर्न ‘समन्वय र सहकार्य’ गर्दै राप्तीसोनारी

बाँके । राप्तीसोनारी गाउँपालिका क्षेत्रमा कोरोना भाइरस (कोभिड–१९) नियन्त्रणका लागि सबै पक्षबीच समन्वय तथा सहकार्य गरिने भएको छ । राप्तीसोनारी गाउँपालिका कार्यालयमा शनिबार बसेको सर्बपक्षीय र सर्वदलीय बैठकमा यस्तो निर्णय भएको हो ।

गाउँपालिका अध्यक्ष लाहुराम थारुको अध्यक्षतामा बसेको बैठकमा उपस्थित विभिन्न क्षेत्रका अगुवाले गाउँपालिका क्षेत्रमा कोरोना महामारी फैलिन नदिन पर्याप्त मात्रामा जनचेतना फैलाउने, सर्वसाधारणलाई सुरक्षित भएर घरमा बस्न अनुरोध गर्ने, गाउँपालिकाले ब्यवस्थित आइसोलेसन बनाउनुपर्ने, आवश्यक स्वास्थ्य सामाग्री खरिद गर्नुपर्ने लगायत सुझाव दिएक छन् ।

उक्त बैठकमा स्थानीय सरकारको रुपमा रहेको गाउँपालिकाले कोरोना भाइरसलाई लक्षित गरेर पर्याप्त मात्रामा औषधी लगायत स्वास्थ्य सामाग्री खरिद गर्ने, स्थापना गरिएको आइसोलेसन सेन्टरलाई प्रभावकारी बनाउने, आवश्यकता अनुसार थप आइसोलेसन सेन्टर स्थापना गर्ने निर्णय भएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार गाउँपालिकाले हालसम्म ४७ बेड क्षमताको आइसोलेसन सेन्टर स्थापना गरिसकेको छ । राप्तीसोनारीको वडा नम्बर २, ३ र ६ नम्बर वडामा उक्त आइसोलेसन सेन्टर सञ्चालनमा छन् । गाउँपालिकाले लगत्तै आइसोलेसनको क्षमता ५० बेड पुर्याउने तयारी भइरहेको पनि प्रमुख प्रशासकीय अधिकृत शाहीले बताए ।

बैठकलाई सम्बोधन गर्दै गाउँपालिका अध्यक्ष थारुले गाउँपालिकाले स्थापना गरेको आइसोलेसनलाई थप ब्यवस्थित गर्ने बताए । अध्यक्ष थारुले हाल गाउँपालिकाले १५ वटा अक्सिजन सिलिण्डर खरिद गरिसकेको र थप ५० वटा अक्सिजन सिलिण्डर खरिद गर्ने जानकारी दिए ।

यसका साथै विभिन्न वडामा टोल तथा घरमै पुगेर गाउँपालिकाले सर्बसाधारणको स्वास्थ्य जाँचको ब्यवस्था मिलाउने बताए । कोरोना भाइरस नियन्त्रण र ब्यवस्थापनका लागि आवश्यक पर्ने स्वास्थ्य सामाग्री खरिद गरिने उनको भनाई छ । उक्त बैठकमा राप्तीसोनारी क्षेत्रका जनप्रतिनिधि, राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, रेडक्रस, विभिन्न क्षेत्रका सरोकारवाला निकाय लगायतको उपस्थिति थियो ।

प्रकाशित मिति : २६ बैशाख २०७८, आइतवार ०७:२५