सूचनाको शक्ति - The Power Of Information

        

तीन हजार जना कोरोनामुक्त

बाँके । कोरोना हटस्पटका रूपमा देखिएको बाँकेमा पछिल्लो समय निको हुनेको सङ्ख्यासमेत तीव्र गतिमा बढिरहेको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका अनुसार पछिल्लो समय कोरोना निको हुनेहरू बढ्दै जान थालेका छन् । वैशाख १ गतेयता करिब तीन हजारजना कोरोनामुक्त भएर घर फिर्ता भएका छन् ।

दुई वर्षीय बालिकादेखि ज्येष्ठ नागरिकसम्म कोरोनामुक्त भएर घर फिर्ता हुनुभएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र बाँकेका सम्पर्क व्यक्ति तेज वलीका अनुसार बाँकेमा कोरोनाका नयाँ बिरामी बढेकोमात्रै नभई, निको हुनेहरू पनि दैनिक बढिरहेका छन् । वैशाख १ गतेयता बाँकेमा ६ हजार १४२ जनामा कोरोना सङ्क्रमण भएको छ ।

यसैगरी, बाँकेका ८३ सहित ११५ जनाको वैशाखयता निधन भएको जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रले जनाएको छ । बाँकेमा हालसम्म सात हजार १३ जना कोरोनामुक्त भएर घर फिर्ता भएका छन् । यहाँको भेरी अस्पताल र शिक्षण अस्पतालसहित अन्य अस्पताल र स्थानीय तहले सञ्चालन गरेका अक्सिजनसहितका आइसोलेसन वार्डमा कोभिडका बिरामीको उपचार भइरहेको छ ।

प्रकाशित मिति : २५ बैशाख २०७८, शनिबार ०७:१८