सूचनाको शक्ति - The Power Of Information

        

लिक्विड अक्सिजन ट्यांक

बाँकेको भेरी अस्पतालमा लिक्विड अक्सिजन प्लान्ट राख्ने तयारी

९० प्रतिशत काम सकियो

बाँके। बाँकेको भेरी अस्पतालले कोरोना संक्रमितको उपचारमा अक्सिजन अभाव टार्न लिक्विड अक्सिजन प्लान्ट जडान प्रक्रिया अगाडि बढाएको छ ।

तर भारतमा लकडाउनका कारण आवश्यक सामग्री आपूर्ति हुन नसक्दा प्लान्ट जडान कार्य प्रभावित बनेको अस्पतालले जनाएको छ ।

अक्सिजन ट्यांक जडानको सबै तयारी पूरा भइसके पनि बुलेट मार्फत ढुवानी हुने क्रायोजेनिक अक्सिजनको आयात निश्चित नभइसकेकाले प्लान्ट ‘सिस्टम’ जडान हुन नसकेको अस्पतालले जनाएको छ ।

प्लान्ट जडानका निम्ति फाउन्डेसन निर्माण सम्पन्न भइसकेको मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले बताए । अक्सिजन भण्डारणका लागि रिजर्भ्वायर ट्यांक समेत आपूर्ति भइसकेको उनको भनाइ छ । थापाका अनुसार अक्सिजन प्लान्ट जडानको काम ९० प्रतिशत सकिएको छ ।

बुलेटमार्फत भारतबाट ढुवानी हुने क्रायोजेनिक अक्सिजन आयातका लागि सरकारले भारतसँग समन्वय गरिसकेको जानकारी आज मात्रै आफूले पाएको थापाले बताए ।

कोभिड–१९ को दोस्रो लहर फैलिएसँगै अक्सिजनको माग पनि बढेपछि दीर्घकालीन समाधानका लागि अस्पतालले फास्ट ट्र्याकमार्फत लिक्विड अक्सिजन ट्यांक जडान प्रक्रिया अघि बढाएको उनले बताए ।

अक्सिजन प्लान्ट सञ्चालनमा आइनसकेको भन्दै अत्यावश्यक बाहेक कसैले पनि व्यक्तिगत रुपमा घरमा अक्सिजन सिलिण्डर होल्ड नगरिदिन अस्पतालले अनुरोध समेत गरेको छ ।

समुदायमा स्थापित आइसोलेसनले आवश्यक संख्यामा मात्र सिलिन्डर राख्न अनुरोध गर्दै अस्पतालले ‘जीवन वायु’ को रुपमा रहेको अक्सिजन आपूर्तिको सहज आपूर्ति व्यवस्था मिलाउन समेत अनुरोध गरेको छ ।

प्रकाशित मिति : २४ बैशाख २०७८, शुक्रबार ०८:१०