सूचनाको शक्ति - The Power Of Information

        

सत्ताको प्रलोभन

व्यक्तिगत स्वार्थले विभाजनतिर ‘जसपा’

पूर्वराजपा समूह सरकारमा जान खुट्टा उचालेर बसेको छ । ओलीलाई सत्ता संकट परेको र आफ्ना केही मागमा ‘बार्गेनिङ’ गर्दै आइरहेको छ ।

काठमाडौं । चौथो शक्तिको रुपमा स्थापित मधेशकेन्द्रित दल जनता समाजवादी पार्टी (जसपा) औपचारिक विभाजनको सँघारमा छ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा जाने या नजाने विषयमा जसपा अब फुट्न मात्र बाँकी छ । संघीय परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव समूह ओली सरकारलाई कुनै हालतमा समर्थनसमेत नगर्ने पक्षमा छन् भने पूर्वराजपा समूह भने सरकारमा जान खुट्टा उचालेर बसेको छ ।

जसपाका बाबुराम–उपेन्द्र पक्षले प्रधानमन्त्री ओलीले प्रतिनिधि सभा विघटन गरेर प्रतिगागी कदम चालेको आरोप लगाउँदै आएका थिए । यो समूहले प्रतिपक्षीसहित नयाँ सरकार बनाउनुपर्ने माग अघि सार्दै आएको छ । तर अर्का महन्थ अध्यक्ष ठाकुर भने ओलीलाई सत्ता संकट परेको र आफ्ना केही मागमा ‘बार्गेनिङ’ गर्दै आइरहेको छ । यो पक्ष यही सरकारलाई निरन्तरता दिनुपर्ने अडानमा छ । पार्टीभित्र चरम विवाद चुलिएको छ । जसपाका नेताहरू नै पार्टी विभाजन हुन लागेको स्विकार्न थालेका छन् ।

नेता भट्टराईनिकट विश्वदीप पाण्डेले मंगलबार फेसबुकमार्फत पार्टी विभाजनको संघारमा रहेको बताइसके । उनले लेखेका छन्, ‘कांग्रेस एमालेको विकल्प दिन भनेर राजनीतिमा उदाउने उद्घोष गरेको जसपा नेपाल करिब करिब फुटको संघारमा पुगेको छ । हामी सकभर पार्टी फुटबाट जोगाउन प्रयासरत छौँ, तर हिजो बेलुकादेखि देशी÷विदेशी शक्ति पैसाको झोलासहिको गाडीमा केही सांसद् र कार्यकारिणी समिति सदस्यको घरदैलो गर्दैछ ।’ सांसदहरूमाथि प्रलोभनमात्रै नभएर डरत्रासको धम्कीसमेत आइरहेको उनले लेखेका थिए ।

‘ओलीलाई कुनै हालतमा सघाउन सकिँदैन’

ओलीलाई कुनै पनि हालतमा विश्वासको मत दिन नसकिने अध्यक्ष ठाकुरइतरका नेता रामबाबु यादव बताउँछन् । भन्छन्, ‘दुई पार्टीबीचको एकता प्रक्रिया टुंगिएको थिएन । तर, उहाँहरू लोभ लालचमा पर्नुभयो । बैठक राख्नै छाड्नुभयो । केपीलाई काँध थाप्न अघि सर्नुभयो । हाम्रो त पहिल्यै ओलीदेखि दुई धार त थियो नै । संसद् विघटन गरेपछि कांग्रेस र जसपामा आन्दोलन जाने या नजाने भन्ने विषयमा दुई धार देखियो । उहाँहरू जनताको अगाडि नांगो हुने डरले मात्रै जनताको अगाडि सडकमा जानुभएको थियो ।’

अध्यक्ष ठाकुर संसद् पुनःस्थापनापछि केपी दरबार बालुवाटार धाउन थालेका उनले आरोप लगाए । ‘कांग्रेसले पनि संवैधानिक नियुक्तिमा आफ्नो भाग पायो । उहाँहरू अहिले ओलीको गोटी मात्रै हुनुभएको छ । संघीयता, धर्मनिरपेक्षता र गणतन्त्रका लागि नलडेकाहरू मात्रै भइदिएको राजनीतिमा रमाएकाहरूको समूह बनिरहेका छन्,’ यादवले भने, ‘संसदीय र कार्यकारिणी समितिको बैठकले निर्णय गर्छ, तर, हामीले ओलीलाई समर्थन गर्नु भनेको विषय खानु हो ।’

लोकतन्त्रमा लोकतन्त्रलाई नै हत्या गर्नेतिर लागेकाहरूलाई समर्थन गर्न नसकिने उनको तर्क छ । ‘ओली सरकार फाल्न हरप्रयत्न गछौँ । हामी सफल हुन्छौँ भन्ने लागेको छ । उहाँहरूलाई अरू कुनै उपाय नलागेपछि डुल्दै हस्ताक्षर अभियान चलाउनुभएको छ । हामीले हस्ताक्षर अभियान चलाएका छैनौँ,’ यादवले थपे । यादवले पार्टीभित्र ओली प्रवृत्ति मौलाएको पनि आरोप लगाए ।

ओली प्रवृत्ति मौलायो

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रहँदा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयको बहुमत सदस्य लिएर बालुवाटारमा ओलीलाई बैठक राख्न आग्रह गरेको स्मरण गर्दै पार्टीमा ओली प्रवृत्ति मौलाएको उनले बताए । उनले भने, ‘हामीले पार्टीको बैठक राखौँ मात्रै भनेका हौँ । उहाँहरूले पार्टीलाई एकल निर्णयबाट चलाउन चाहनुहुन्छ । पार्टीको कार्यकारिणी समितिको बैठक राख्नै नचाहने । बाध्य भएर बालकुमारीमा एउटा बैठक बसेको थियो । त्यसपछि अहिलेसम्म कुनै बैठक बस्न सकेको छैन ।’

आफूहरू केपी ओलीलाई फाल्नकै लागि लागिपरेको यादव दाबी गर्छन् । पार्टीमा केपी ओलीविरुद्ध पार्टीमा २२÷२३ सांसद् रहेको उनको भनाइ छ । ‘उहिले उहाँहरू सत्ताको आडमा सांसद्को पोको लिएर र मन्त्रीलगायत सरकारी नियुक्तिको आश्वासन बाँडेर धाइरहेको हामीले देखेका छौँ । प्रभाव र दबाब राखेर उहाँहरू अगाडि बढ्न खोज्नुभएको छ,’ यादवले भने, ‘संसदीय दलको बैठकमा मुस्किलले ५ जनाबाहेक सांसद् ओलीविरुद्ध नै हुनुहुन्छ । केपीको बिदाइ गर्नुपर्छ भन्ने उहाँहरूको धारणा छ ।’

बैठक बसेर आधिकारिक धारणा

यता जसपाका अर्का नेता केशव झा भने पार्टीको बैठक बसेर आधिकारिक धारणा सार्वजनिक गर्ने बताउँछन् । भने, ‘पार्टीमा कुनै विवाद छैन । दुई वटा विचार देखियो । वर्तमान परिस्थितिमा बैठक बसेर धारणा सार्वजनिक गछौँ ।’ तर, उनी पार्टीभित्र दुवै समूहबाट हस्ताक्षर संकलन गरेको स्वीकार गदैनन् । ‘विश्वासको मतको सन्दर्भमा पहिलादेखि हाम्रो माग सम्बोधन भए सहयोग गर्न सकिन्छ भन्ने विषयको सम्भावना हुन सक्छ भनेका हौँ,’ उनले भने, ‘हाम्रो माग सम्बोधन भएको खण्डमा यही सरकारलाई निरन्तरता दिन सकिन्छ । तर, त्यस विषयमा पार्टीले छलफल गरेर निर्णय गछौँ ।’

जसपा एक नबस्ने अन्य दलको निष्कर्ष

जसपाभित्र चुलिएको विवादले अब जसपा एउटै पार्टी नबस्ने अन्य दलले आकलन गर्न थालेका छन् । ‘हामीले प्रधानमन्त्रीलाई समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा पर्छ । यसमा पनि केपी ओलीले आफ्नो सरकार जोगाउन जस्तोसुकै कदम चाल्न सक्नुहुन्छ,’ माओवादीका एक नेताले भने, ‘अहिलेको परिस्थिति हेर्दा जसपा एकै ठाउँमा रहने सम्भावना हामीले देखेका छैनौँ । बैठकमा त्यसबारे पनि प्रसंग चलेको थियो ।’

ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको माओवादीले नयाँ सरकार बनाउँने विकल्पबारे निरन्तर छलफल गरिरहेको ती नेताको भनाइ छ । यस्तै, प्रमुख प्रतिपक्षी दल कांग्रेसले पनि ओली सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको छ । एमालेभित्र ओलीविरुद्ध संघर्ष गरिरहेका माधव नेपाल समूहले पनि कसरी अघि बढ्नेबारे आज छलफल गरेको छ । बैठकमा ओली सरकार ढाल्न आफ्नो पक्षबाट कस्तो कदम उठाउँदा उपयुक्त हुन्छ भन्नेबारे पनि छलफल भएको बैठक सहभागी एक नेताले बताए ।

प्रकाशित मिति : २२ बैशाख २०७८, बुधबार ०६:४८