सूचनाको शक्ति - The Power Of Information

        

महामारीमा बेथिति

नेपालगन्जमा अघोषित लोडसेडिङ्ग, ‘कोरोना संक्रमितलाई झन् पीडा’

होम आइसोलेसनमा बसेका नेपालगन्ज–१८ का एक जनाले भने, ‘कोरोनाले पीडा दिइरहेका बेला नेपालगन्जको चर्को गर्मीमा विद्युत प्राधिकरणले थप पीडा दिइरहेको छ ।’

बाँके । दोस्रो लहरको कोभिड–१९ संक्रमण तीव्ररूपमा फैलिएसँगै बाँके जिल्ला देशकै प्रभावित जिल्ला बनेको छ । अझ बाँकेको नेपालगन्ज कोरोना संक्रमणको उच्च चपेटामा परेको छ । सीमावर्ती सहरका घरघरमै संक्रमित छन् । प्रत्येक दिन परीक्षण गरिएका स्वाबका नमुनामध्ये ८० प्रतिशतसम्ममा संक्रमण पुष्टि भइरहेका छन् ।

दिनहुँ ठूलो संख्यामा संक्रमित थपिन थालेपछि यहाँका सरकारी र निजी अस्पतालले बिरामीको चाप थेग्न सकेका छैनन् । अधिकांश संक्रमित होम आइसोलेसनमा छन् । यहाँस्थित प्रयोगशालाका अनुसार संक्रमितमध्ये धेरै सहरकै छन् । नेपालगन्ज उपमहानगरका प्रमुख आवास क्षेत्र भृकुटीनगर, कोरियनपुर र कारकाँदोका घरघरमै संक्रमित छन् ।

यहीँ बसोबास गरिरहेका व्यक्ति संक्रमणको सिकार हुन थालेपछि स्थानीयमा त्रास बढेको छ । स्थानीयका अनुसार कोरोना संक्रमण ‘भुसको आगो’झैं फैलिरहेको छ । नेपालगन्जमा दैनिक संक्रमित थपिएको कोरोना संक्रमितको तथ्यांकले नेपालगन्जका घरघरमा कोरोना भाइरस फैलिसकेको सहजै अनुमान गर्न सकिन्छ ।

लक्षण देखिएकाको मात्रै परीक्षण गर्दा पनि ठूलो संख्यामा संक्रमण पुष्टि हुन थालेको प्रयोगशालाले जनाएको छ । नेपालगन्ज उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामबहादुर चन्दले भने, ‘नेपालगन्ज उपमहानगरका घरघरमा कोरोनाका बिरामी हुन सक्छन् । परीक्षण नगरिएको मात्रै हो ।’

संक्रमण घरघरसम्म पुग्नुको प्रमुख कारण भने लापरबाही नै भएको उनको दावी छ । ‘परीक्षणको दायरा बढाउने हो भने अझै पनि संक्रमितको संख्या बढ्न सक्छ,’ उपमहानगरका स्वास्थ्य शाखा प्रमुख चन्दले भने । सरकारले गत वर्ष समुदायमा संक्रमण फैलिएका बेला पीसीआर परीक्षण बन्द गरेको थियो ।

परीक्षण रोकिएपछि नेपालगन्जमा कोरोना संक्रमितको संख्यामा कमी आएको थियो । त्यसले संक्रमण नियन्त्रणमा आएको भ्रम सर्वसाधारणलाई भयो । स्थानीय प्रशासनले पनि नेपालगन्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा आठ जनामात्रै कोरोनाका बिरामी रहेको र केहीदिनमै घर फर्किने जनाएको थियो ।

कोरोना नियन्त्रणमा आएको भन्दै सावधानी अपनाउन छाडिएको थियो । तर पछिल्लो समय लक्षणसहितका बिरामी अस्पताल भर्ना हुन थालेपछि परीक्षण फेरि सुरु गरिएको हो । परीक्षणपछि यहाँको अवस्था भयावह देखिएको छ । जटिल अवस्थाका बिरामीबाहेक भर्ना बन्द गरेको भेरी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.प्रकाशबहादुर थापाले बताए ।

‘हामीले कोरोनाको महामारीबारे बारम्बार सचेत गराइरहँदा पनि लापरबाही भयो, जसका कारण समुदायमा कोरोना फैलिसक्यो,’ उनले भने, ‘अहिले कोरोना संक्रमण नियन्त्रणबाहिर गइसकेको छ ।’ अस्पतालका मेसु डा.थापाका अनुसार बाँकेमा गत वर्षको भन्दा कोरोना भाइरसको फरक भेरियन्ट रहेको देखिएको छ ।

‘कोरोनाको दोस्रो लहर चलेको तीन साता भयो, यसपटक जटिल खाले बिरामी बढी देखिन थालेका छन्, ठीक हुनेको संख्या पनि यो सातादेखि केही वृद्धि भएको छ,’ उनले भने, ‘क्रिटिकल बिरामीलाई ठीक हुन समय लाग्छ ।’ बाँकेमा भारतबाट फर्किएकाभन्दा बढी यहीँ बसोबास भएका व्यक्तिमा संक्रमण देखिएको छ ।

चिकित्सकहरुका अनुसार बाँकेका घरघरमा कोरोना संक्रमणका विरामीहरु देखिन थालेपछि अवस्था गम्भीर बन्दै गएको छ । ‘अस्पतालमा वेड छैन, घरघरमै अक्सिजन सिलिन्डर जडान गर्नुपर्ने अवस्था छ । तर यहाँको विजुली नियमित नहुँदा धेरैले ज्यान गुमाउनुपर्ने अवस्था सिर्जना हुनसक्छ,’ नेपालगन्जको एक नीजि अस्पतालमा कार्यरत चिकित्सकले भने ।

कोरोना संक्रमणको ‘हटस्पट’ बनेको नेपालगन्जमा बढिरहेको गर्मीसँगै दैनिकरुपमा भइरहेको अघोषित लोडसेडिङ्गले सास्ती दिएको छ । ‘पाँच मिनेटको अन्तरमा झ्याप्प झ्याप्प विद्युत आउने जाने गरिरहन्छ । यस्तो अवस्थामा घरमा अक्सिजन दिइरहेका कोरोना संक्रमितलाई थप कष्ट भएको छ,’ एक जना विरामीका आफन्तले भने ।

छिनमा आउने छिनमा जाने भइरहन्छ । विद्युत नहुँदा उम्सो भएर कोठाभित्र बस्न सक्ने अवस्था पनि छैन । बत्ती नभएको अवस्थामा कोठाभित्र बस्न नसक्दा अक्सिजन लिइरहेका बिरामीलाई समस्या भइरहेको छ । विद्युत कार्यालयको लाहपर्वाहीले नागरिकहरुले अघोषित लोडसेडिङको मार खेपिरहेको नेपालगन्जबासीहरु बताउँछन् ।

नेपालगन्ज कारकाँदोका रमेश बस्नेतले विद्युत आउने र जाने गर्दा विद्युत सट भएर बल्व फुट्ने, पंखा बिग्रिने, इन्भटर जल्ने, फ्रिज बिग्रिने लगायतका समस्या भइरहेको बताए । अघोषित लोडसेडिङ्ग र ‘लो’ तथा ‘हाइ’ भोल्टेजमा विद्युत आउँदा विद्युतीय सामग्रीमा नोक्सानीसमेत भइरहेको ठकुरीले बताए ।

नेपालगन्जबासीले चर्को गर्मी झेलिरहेका छन् । अझ विद्युत अनियमितताका कारण कोरोना संक्रमित भएर होम आइसोलेसनमा बसेका विरामीहरुलाई निकै सास्ती भएको छ । होम आइसोलेसनमा बसेका एक जनाले भने, ‘बाहिर निस्किन सक्ने अवस्था छैन । बिरामीले गलेको जीउ दिनभर घरमै बस्नुपर्ने र बत्ती नहुँदा सास रोकिएलाजस्तो हुन्छ ।’

चर्को गर्मीमा विद्युतमात्रै नियमित भइदिने हो भने पनि होम आइसोलेसनमा बसेका कोरोना संक्रमितका लागि धेरै राहत हुन्थ्यो । ‘चर्को गर्मीका बेला विद्युत अनियमितता झन् बढ्दै गएको छ, कोरोनासँग लडिरहेका संक्रमितहरुलाई अनियमित विद्युतका कारण राती पनि राम्रोसँग निदाउन सक्ने अवस्था छैन,’ होम आइसोलेसनमा बसेका एक जना भन्छन् ।

‘विद्युत किन अनियमित भएको हो भन्ने जानकारी पाउन सकिँदैन,’ होम आइसोलेसनमा बसेका नेपालगन्ज–१८ का एक जनाले भने, ‘कोरोनाले पीडा दिइरहेका बेला नेपालगन्जको चर्को गर्मीमा विद्युत प्राधिकरणले झन् पीडा दिइरहेको छ ।’ दैनिकजसो एक घण्टामा पाँच पटकसम्म विद्युत काटिने गरेको उनी बताउँछन् ।

‘कम्तिमा लोडसेडिङको जानकारी भए त्यसैअनुसार योजना बनाउन सकिन्थ्यो,’ उनी भन्छन् । लोडसेटिङ्गको विकल्पमा इन्टभर जडान गरिए पनि लामो समय विद्युत अवरुद्ध हुँदा इन्भटरले धान्न सक्ने अवस्था नरहेको उनको भनाई छ । लोडसेडिङ अन्त्य भएको भनिए पनि नेपालगन्जमा दैनिक तीन चार घण्टा बत्ती गइरहेको छ ।

औसतमा यहाँको तापक्रम ४२ डिग्री सेल्सियस आसपास नै हुन्छ । यस्तो उखरमाउलो गर्मीको समयमा नेपालगन्जबासीले अघोषित लोडसेडिङ्गको मार खेपिरहेका छन् । छिनछिनमा विद्युत जानुको कारणबारे बुझ्न खोज्दा नेपाल विद्युत प्राधिकरण नेपालगन्ज वितरण केन्द्रसँगको सम्पर्क प्रयास सफल हुन सकेन ।

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलवार १८:०९