सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

नेपालगन्जबाट भारततर्फ ‘अक्सिजन तस्करी’

कोभिडका सिकिस्त बिरामीलाई अक्सिजन चाहिने देखिएकाले बजारमा माग बढेसँगै तस्करी पनि मौलाउन थाले पनि स्थानीय प्रशासन मौन छ ।

नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर परिसरमा झुल लगाएर उपचारको पर्खाईमा रहेका विरामी तथा कुरुवाहरु । तस्वीर : सामाजिक सञ्जालबाट

बाँके । दोस्रो लहरको कोभिड–१९ संक्रमण तीव्ररूपमा फैलिएसँगै बाँके जिल्ला देशकै प्रभावित जिल्ला बनेको छ । नेपालमै सबैभन्दा बढी कोभिड महामारीसँग जुझिरहेको बाँकेमा अक्सिजन अभाव हुन थालेको छ । गम्भीर प्रकृतिका कोरोना संक्रमित बढ्दै गएपछि कोरोना विशेष अस्पतालमा अक्सिजनको अभाव हुन थालेको छ ।

सघनरुपमा कोरोनाको उपचार सेवा दिइरहेका यहाँका अस्पतालहरुमा यतिखेर अक्सिजन अभाव हुन थालेपछि अक्सिजन दिनुपर्ने बिरामीहरु अक्सिजन नपाएर अस्पताल परिसरमा मृत्युसँग लडिरहेका छन् । अन्य अस्पतालमा पनि अक्सिजन प्रयोग गर्ने बिरामी बढ्दै जाँदा अभाव हुन थालेको छ । अस्पतालहरुमा स्वासप्रश्वासका विरामी बढिरहेका छन् ।

बाँकेमा सरकारीस्तरमा नेपालगन्जस्थित भेरी अस्पताल र नीजिस्तरमा नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कोरोना विरामीको उपचार हुँदै आएको छ । भेरी अस्पतालले बेड अभावमा नयाँ कोरोना संक्रमण भएका बिरामी भर्ना बन्द गरिसकेको छ भने जेनतेन सिलिण्डरबाट विरामीलाई अक्सिजन पुर्याइरहेको छ ।

मेडिकल कलेजमा बेड भए पनि अक्सिजन अभाव नयाँ बिरामी भर्ना हुन नपाउँदा अस्पताल परिसरमा छट्पटाइरहेका हुन्छन् । कपिलवस्तु, दाङ्ग, बाँके, बर्दिया, सुर्खेत, कैलाली लगायत जिल्लाका कोराना बिरामीलाई भेन्टिलेटरसम्मको उपचार दिइरहेको मेडिकल कलेजले यतिखेर अक्सिजन अभाव भएपछि कलेजका सहनिर्देशक डा.नितेश कनोडिया हैरानीमा छन् ।

उपनिर्देशक डा.कनोडियाले कोरोना बिरामी उपचार गर्न ३०० बेड तयार पारे पनि अक्सिजन अभाव भएकाले १४० बेडमात्र सञ्चालक गरिरहेको बताए । अक्सिजनको अभावमा थप बेड सञ्चालन हुन नसकेपछि कोरोना संक्रमित बिरामीहरु अस्पताल परिसरमा पालो कुरेर बसिरहेका देखिन्छन् ।

संक्रमितको संख्या दिनहुँ बढिरहेको छ भने अस्पताल भर्ना भएका अधिकांशलाई अक्सिजन दिनुपरिरहेका नेपालबाट अक्सिजन भारततर्फ तस्करी हुन थालेको छ । भारतमा अक्सिजन अभाव देखिन थालेपछि यहाँका व्यवसायीले भारततर्फ अक्सिजन तस्करी गर्न थालेका छन् । नेपालमै अक्सिजनको अभाव हुने स्थिति आइरहेको छ ।

हाल बाँकेमा पुग्दो मात्रामा अक्सिजन रहे पनि माग बढिरहेको छ । यहाँका स्वास्थ्यकर्मीहरुले बाँकेमा अक्सिजन अभाव हुने आँकलन गर्दै यहाँका व्यवसायीलाई भारततर्फ निकासी नगर्न आग्रह गरिरहेका छन् । कोभिडका सिकिस्त बिरामीलाई अक्सिजन चाहिने देखिएकाले बजारमा माग बढेसँगै तस्करी पनि मौलाउन थाले पनि स्थानीय प्रशासन मौन छ ।

नेपालगन्ज उपमहानगरपालिका–१७ को परसपुरमा रहेको एचओ अक्सिजन इन्डष्ट्रिज प्रालिबाट दिनहुँ यूपी सरकारले नेपालगन्जका व्यवसायीहरुमार्फत भारतमा रहेका आफ्ना बिरामी बचाउन अक्सिजन लैजाने गरेको जनाएको छ । नेपालगन्जबाट अक्सिजन भारत जान थालेपछि यस क्षेत्रमा अक्सिजनको थप समस्या उत्पन्न हुन थालेको छ ।

पहिले दमलगायतका श्वाससम्बन्धी समस्या भएकाहरूका लागि पहिले अक्सिजन खपत बढी हुन्थ्यो । कतिपयले स्टकका लागि भनेर किनिरहेको अक्सिजन उद्योग सञ्चालकहरुको भनाई छ । पहिलेजस्तै लकडाउन भएर मेडिकल सामान आयात गर्न समस्या भयो भने अक्सिजन ग्यास अभाव हुन सक्ने उद्योग सञ्चालकहरुको दावी छ ।

नेपालगन्ज–४ का स्थानीय प्रदीप शाहीले अस्पतालहरुमा कोभिडका संक्रमितहरू बढेसँगै अक्सिजनको माग बढेका बेला तस्करी गर्नु अपराध भएकोले अक्सिजन अभाव हुन नदिन र तस्करी रोक्न स्थानीय प्रशासनले सक्रियता देखाउनुपर्ने बताए । उनले भने, ‘यता अभाव सिर्जना गरेर भारततर्फ तस्करी गर्नेलाई प्रशासनले तत्काल कारबाही गर्नुपर्छ ।’

यता नेपालगन्ज मेडिकल कलेजका सहनिर्देशक डा.कनोडियाले भएको लिक्विड अक्सिजन ट्याङ्क सकिन लागेको र भारतले ट्याङ्क ल्याउन नदिएपछि कोरोना संक्रमितको उपचारका लागि सञ्चालन गर्ने भनिएको ३०० बेड सञ्चालन हुन नसकेको जानकारी दिए । उनले भएका बिरामीलाई पनि अब केही दिनका लागि मात्रै अक्सिजन मौज्दात रहेको बताए ।

सहनिर्देशक डा.कनोडियाले साँच्चिकै बिरामी बचाउने हो भने सरकारले छिटोभन्दा छिटो लिक्विड अक्सिजन ट्याङ्क भारतबाट ल्याउने व्यवस्था मिलाई दिन अनुरोध गरे । उनले भने, ‘सरकारले लिक्विड अक्सिजन ट्याङ्क भारतबाट ल्याउने व्यवस्था मिलाइदिए हामी खरिद गरे तुरुन्त ३०० बेड सञ्चालन गर्छौं ।’

डा. कनोडियाका अनुसार अक्सिजन दिनुपर्ने नयाँ बिरामी अस्पताल परिसरमा पालो कुरेर बसिरहेका हुन्छ, बिरामीको छटपटी हामी टुलुटुलु हेरेर बस्नुपर्ने अवस्था छ । उनले भने, ‘हाइफ्लो अक्सिजन चाहिने बिरामीलाई सिलिण्डरको अक्सिजनले पुग्दैन, पुराना बिरामी डिस्चार्ज भएपछि मात्र नयाँ भर्ना गर्न मिल्छ ।’

प्रकाशित मिति : २१ बैशाख २०७८, मंगलवार १६:५०