सूचनाको शक्ति - The Power Of Information

        

देशवासीका नाममा प्रधानमन्त्रीको सम्बोधन

‘कोरोना संक्रमण बढ्न नदिन सरकारले आफ्नो दायित्व पुरा गर्छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीको संक्रमण बढ्न नदिन सरकारले आफ्नो दायित्व हर हालतमा पुरा गर्ने बताएका छन् । सोमबार देशवासीका नाममा सम्बोधन गर्दै ओलीले यसलाई प्रभावकारी बनाउन सरकारका साथै आमनागरिकको पनि उत्तिकै भूमिका हुने भन्दै कोरोना संक्रमण र रोकथामका लागि जारी भएका स्वास्थ्य मापदण्ड पालनामा जोड दिए ।

उनले आम नागरिकलाई आह्वान गर्दै भने, ‘सकभर घरमै बसौं, घरबाहिर निस्कनै परे सही तरिकाले अनिवार्य रुपमा मास्क लगाऔँ ।’ उनले कोरोनाबाट जोखिम हात धुन, स्यानिटाइजरले हात सफा गर्न, भोजभतेर तथा पर्व घरमै मनाउन, भौतिक दुरी कामय गर्न, भीडभाडबाट टाढै रहन, हल्ला र अफवाहबाट भ्रमित नहुने पनि आम नागरिकलाई सुझाव दिए । चिकित्सक र विज्ञहरुको कोरोनासम्बन्धी सल्लाहलाई पालना गर्न भन्दै उनले धैर्य गर्न र संयमित हुन आग्रह गरे ।

स्वास्थ्यकर्मीलाई ५० प्रतिशत जोखिम भत्ता

सरकारले कोरोना संक्रमितको उपचार र सेवामा खटिने स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तलब मानको थप ५० प्रतिशत जोखिम भत्ता दिने भएको छ । देशवासीका नाममा गरेको सम्बोधनका क्रममा प्रधानमन्त्री ओलीले त्यस्ता स्वास्थ्यकर्मी तथा कर्मचारीको परिवारको उपचार र बीमाको व्यवस्था गरिने पनि बताए । यस्तै स्वास्थ्य जनशक्तिको अभाव हुन नदिन अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई एक वर्ष करारमा भर्ना गरिने पनि ओलीले बताए ।

सेनालाई एक हजार शैय्याको अस्पताल बनाउन निर्देशन

प्रधानमन्त्री ओलीले ठूला अस्पताललाई कोभिड अस्पताल अस्पतालका रुपमा सञ्चालन गरिने बताएका छन् । देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले वीर अस्पतालको नयाँ भवन, नेपाली सेनाको मिलिटरी अस्पताल, काठमाडौंका धेरै शैय्या भएका मेडिकल कलेज ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालको रुपमा सञ्चालन गरिने प्रधानमन्त्रीले जानकारी दिए ।

यस्तै उनले नेपाली सेनालाई प्रदेश तथा राजधानीमा एक हजार शैय्याको शीघ्र कोभिड अस्पताल निर्माण गर्न निर्देशन दिइएकोसमेत जानकारी दिए । प्रदेश सरकारले पनि मेडिकल कलेज र ठूला अस्पताललाई कोभिड र साना अस्पतालाई ननकोभिड अस्पतालको रुपमा सञ्चालन गर्ने ओलीले बताए । यस्तै खुला स्थान, रंगशाला, पार्टी प्यालेस लगायतलाई क्वारेन्टिनको रुपमा विकसित गरिने पनि ओलीले बताए ।

शैय्या लुकाउने अस्पताललाई कारवाही

प्रधानमन्त्री ओलीले कुनै पनि अस्पतालले शैय्या लुकाए कारवाही गर्ने बताएका छन् । देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले कोरोना नियन्त्रण तथा रोकथाममा सवै सरकारी संयन्त्र र स्रोत साधन परिचालन गर्ने भन्दै अस्पतालहरुले अस्पतालहरुले शैयाया लुकाएमा कारवाही हुने बताएका हुन् । ‘कुनै अस्पतालले विवरण पुरा नपठाइ शैया लुकाएको भेटिएमा कारवाही हुनेछ । ठुला अस्पताल तथा मेडिकल कलेजमा अक्सिजन प्लान्ट उत्पादन गरिने छ’ प्रधानमन्त्री ओलीले कोभिडका औषधिको कृतिम अभाव गर्नेलाई समेत कडा कारवाही गर्ने बताए ।

कोरोनाविरुद्धको खोप लगाउनेमा नेपाल भारतपछि पहिलो

प्रधानमन्त्री ओलीले अप्ठ्याराकै बीचमा सरकारले कोभिड–१९ विरुद्ध सबैलाई निःशुल्क खोप उपलब्ध गराउने प्रक्रिया सुरु गरिसकेको बताएका छन् । आफ्ना देशवासीलाई कोरोनाविरुद्ध खोप लगाउनेमा नेपाल दक्षिण एसियामै भारतपछि पहिलो मुलुक भएको बताए । उनले हाल सम्ममा करिब २१ लाखलाई पहिलो डोज खोप लगाइ सकिएको भन्दै दोस्रो डोज खोप लगाउन आरम्भ गरिएको बताए । अहिलेसम्म झण्डै ३ लाख ७० हजारले दोस्रो डोज खोप लगाइसकेको बताउँदै उनले यस संख्यामा स्वास्थ्यकर्मी लगायत अन्य अग्रपंक्तिमा खटिने व्यक्तिहरू रहेको जानकारी दिए ।

प्रकाशित मिति : २० बैशाख २०७८, सोमबार १६:३१