बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएपछि जनता समाजवादी पार्टीको निर्णयविपरित मन्त्री बनेका चार जनाको पद दुई साता पनि टिक्न सकेन । मुख्यमन्त्री पोखरेलको राजीनामासँगै उनीहरुको मन्त्री पद स्वतः गुमेको छ ।
लुम्बिनी प्रदेशमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र सजपाले संयुक्तरुपमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याएका थिए । तर अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका जसपाका ३ सांसदसहित ४ जना मन्त्री बनेका थिए ।
एक जना कल्पना पाण्डेले भने अविश्वास प्रस्तावमा हस्ताक्षर गरेकी थिइनन् । लुम्बिनी प्रदेशमा जसपाका ६ सांसदमध्ये ४ जनाले बहुमतको आधारमा संसदीय दलको नेता परिवर्तन गरेको निर्णय गर्दै सरकारमा सहभागी भएका थिए ।
उनीहरुलाई सोही दिन जसपा लुम्बिनी प्रदेशले २४ घण्टे स्पष्टीकरण सोध्दै पार्टीका सम्पूर्ण जिम्मेवारीबाट हटाएको थियो । उनीहरुले पार्टी निर्णयविपरित मुख्यमन्त्रीलाई साथ दिएको भन्दै सांसद पदबाट पनि हटाइएको थियो ।
उनीहरुलाई सांसद र पार्टीको जिम्मेवारीबाट हटाएकोमा अध्यक्ष महन्थ ठाकुर भने असन्तुष्ट थिए । उनले निर्वाचन आयोगलाई ध्यानाकर्षण पत्रसमेत दिएका थिए । उनीहरुलाई बिहीबार प्रदेश सभा सदस्यबाट पनि पदमुक्त गरिएको हो ।
प्रदेश सभा सदस्यबाट हटाएपछि उनीहरुले कानुनी उपचार खोज्ने बताएका थिए । जसपाका ४ नेता आज सर्वोच्चमा रिट दायर गर्ने तयारीमा भए पनि मुख्यमन्त्रीले राजीनामा दिएसँगै उनीहरुको मन्त्री र सांसद पदसमेत गुमेको छ । उनीहरु अब के गर्ने भन्नेबारे छलफलमा रहेको एक नेताले बताए ।
।