सूचनाको शक्ति - The Power Of Information

        

लुम्बिनीमा हलचल

बहुमत सांसदको हस्ताक्षरसहित लुम्बिनीको मुख्यमन्त्रीमा कुलप्रसादको दाबी

दुई सांसदले शंकर पोखरेलको साथ छोडे, लुम्बिनीमा एमाले सांसद पाण्डेले दिए राजीनामा

बुटवल । नेकपा माओवादी केन्द्र संसदीय दलका नेता कुलप्रसाद केसीले ४२ सांसदको हस्ताक्षरसहित आफ्नो नेतृत्वमा नयाँ सरकार गठनका लागि प्रदेश प्रमुखसामू दाबी पेश गरेका छन् ।

प्रदेश प्रमुख धर्मनाथ यादवले एमाले संसदीय दलका नेता शंकर पोखरेललाई मुख्यमन्त्री नियुक्त गरेलगत्तै ४२ सांसदको हस्ताक्षरले केसीको नेतृत्वमा नयाँ सरकार गठनका लागि दावी पेश गरेका हुन् ।

यसमा सूर्य चिह्नबाट चुनाव जितेका स्वतन्त्र राजनीतिक समूहका कपिलवस्तु–२ (२) का धर्मबहादुर लाल श्रीवास्तव र पश्चिम नवलपरासी (२) का अजय शाहीले तथा साबिकको नेकपाका तर्फबाट दाङ ३ (ख)बाट निर्वाचित विमला केसीले पनि हस्ताक्षर गरेका छन् ।

‘हामी सूर्य चिन्हबाट निर्वाचित भए पनि दुई बुँदे सहमति गरेका छौं । त्यस आधारमा हामी स्वतन्त्र हौं’ अजय शाहीले भने, ‘सांसदबाट राजीनामा दिन्नँ । कारबाही प्रक्रिया अगाडि बढेमा अदालत जान्छौं ।’ हृदयेश त्रिपाठी र विजेशकुमार गुप्ता प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुँदा शाही र श्रीवास्तवले लुम्बिनीमा प्रदेश सांसद जितेका थिए ।

त्यसबेला वाम गठबन्धनसँग स्वतन्त्र राजनीतिक समूहका रुपमा सूर्य चिन्हबाट चुनाव लडेका थिए । यस्तै नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृगनारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा पेश गरेको जानकारी दिएका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतवार १६:४८