बुटवल । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल नियुक्त भएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले संविधानको धारा १६८ (१) बमोजिम नेकपा एमाले लुम्बिनी संसदीय दलका नेता पोखरेल पुनः मुख्यमन्त्री नियुक्त गरेका हुन् । तीन वर्षअघि धारा १६८ (२)अनुसार मुख्यमन्त्री बनेका पोखरेलले आइतबार विहानमात्र राजीनामा दिएका थिए ।
राजीनामा दिएलगतै उनले बहुमत सदस्यको हस्ताक्षरसहित दाबी पेश गरेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । साबिकको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)बाट निर्वाचित बिमला वलीले माओवादी केन्द्र रोजेकाले पोखरेलसँग बहुमत नभएको भन्दै नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र लगायतका दलले मुख्यमन्त्री नियुक्त नगर्न माग गरेका थिए ।
लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादवले एमाले नेता पोखरेललाई मुख्यमन्त्रीमा नियुक्त गरेलगत्तै प्रदेशका विपक्षी दलहरु छलफलमा जुटेका छन् । पोखरेललाई पुनः मुख्यमन्त्री नियुक्त गरेपछि विपक्षी दलहरु प्रदेश प्रमुखको कार्यालयमा छलफलमा जुटेको काँग्रेस संसदीय दलका नेता वीरेन्द्र कडरियाले जानकारी दिएका छन् । यसअघि नेपाली काँग्रेस, माओवादी केन्द्र र जसपा लगायतका विपक्षी दलले प्रदेश प्रमुखलाई मुख्यमन्त्रीको सपथ नखुवाउन पत्र बुझाएका थिए ।
मुख्यमन्त्री पोखरेलले राजीनामा दिएलगत्तै एकल बहुमतको सरकारका लागि प्रदेश प्रमुखलाई पत्र बुझाएका थिए । तर, पोखरेलले बुझाएको पत्रमा सांसद विमला केसीको समेत हस्ताक्षर भएपनि उनले आफु माओवादी केन्द्रमा लागेको खुलासा भएको थियो । यसो हुँदा पोखरेलले दावी गरेजस्तो उनको पक्षमा एकल बहुमत पुग्दैन । तर प्रदेश प्रमुखले पोखरेललाई नै मुख्यमन्त्री नियुक्त गरिसकेका छन् ।
।