बाँके । नेपालगन्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा जनशक्तिको चरम अभाव भएपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट चिकित्सकसहितको टोली सहयोगको लागि नेपालगन्ज आइपुगेको छ ।
प्रतिष्ठानका एनेस्थेसिया तथा क्रिटिकल केयर विभाग प्रमुख डा.प्रवीण गिरी नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मीको ६ सदस्यीय टोली नेपालगन्ज आइपुगेको हो । टोली आजैदेखि भेरी अस्पतालको कोभिड वार्डमा खटिनेछ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आग्रहपछि प्रतिष्ठानका ६ जना चिकित्सक र स्वास्थ्यकर्मीको टोली भेरी अस्पतालमा खटिने भएको हो । इन्चार्ज गिरीसहित टोलीमा डा अरुण श्रेष्ठ, डा.हरि न्यौपाने, नर्सहरु सुष्मिता खड्का, तेन्जिङ लामा र प्यारामेडिक्स नरेन्द्र शर्मा रहेका छन् ।
नेपाल सरकारले कोरोनाको उपचार र व्यवस्थापनका लागि अस्पतालमा एमडी टिम बनाएको छ । उक्त टिमले जहाँ अप्ठ्यारो पर्छ त्यहाँ पुगेर सहयोग गर्ने गर्छ । यो टिम निश्चित समयका लागि परिचालन हुने गरेको छ । डा गिरीको टोली नेपालगन्ज रहेर १० देखि १४ दिनसम्म भेरीमा बसेर उपचारमा सहयोग गरिने बताइएको छ ।
।