सूचनाको शक्ति - The Power Of Information

        

आंशिक र पूर्ण गरी आजदेखि २९ जिल्लामा निषेधाज्ञा आदेश जारी

काठमाडौं । कोरोना संक्रमण तीव्र रुपमा फैलिन थालेसँगै आंशिक र पूर्ण गरी थप छ जिल्लामा निषेधाज्ञाको घोषणा गरिएको छ ।

योसँगै २९ जिल्लामा निषेधाज्ञा आदेश जारी भएको छ । त्यसमध्ये १९ जिल्लामा यसअघि नै जारी भएको निषेधाज्ञा कायम रहेको, तीन जिल्लामा गएरातिदेखि र सात जिल्लामा आजदेखि कार्यान्वयनमा आउने स्थानीय प्रशासनहरुले जनाएका छन् ।

२९ मध्ये सात जिल्लामा आंशिक निषेधाज्ञा छ । आज गुल्मी, प्यूठान, काभ्रे, गोरखा, बाजुरा र उदयपुर जिल्लामा निषेधाज्ञा गर्ने निर्णय भएको छ ।

उदयपुर, प्यूठान र गुल्मीमा जिल्लाभर र अन्य जिल्लामा आंशिक आदेश जारी गरिएको गृह मन्त्रालयले जनाएको छ ।

सरकारले अवस्था हेरेर निषेधको आदेश जारी गर्नसक्ने अधिकार प्रमुख जिल्ला अधिकारीलाई दिएसँगै विभिन्न जिल्लामा निषेधाज्ञा जारी भइरहेको छ ।

सरकारले संक्रामक रोग नियन्त्रण ऐन २०२० को उपदफा २ बमोजिम पहाडी र हिमाली जिल्लामा २०० र काठमाडौँ उपत्यका तथा तराईमा ५०० सक्रिय संक्रमित रहेका जिल्लामा जिल्लाभर वा निश्चित क्षेत्र तोकी प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा वा अन्य आवश्यक आदेश जारी गर्न सक्ने अधिकार दिएको थियो ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतवार ०९:५३