सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

सघन उपचार गर्न जुम्लाबाट नेपालगन्ज आउँदै चिकित्सको टोली

बाँके । नेपालगन्जस्थित भेरी अस्पतालको कोभिड वार्डमा जनशक्तिको चरम अभाव भएपछि जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालबाट चिकित्सकसतिहको टोली सहयोगका लागि आज नेपालगन्ज जाने भएको छ ।

प्रतिष्ठानका एनेस्थेसिया तथा सघन उपचार विभाग प्रमुख डा प्रवीण गिरी नेतृत्वको चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली नेपालगन्ज पठाइएको प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्लेले बताए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको आग्रहपछि प्रतिष्ठानका छ चिकित्सक र स्वास्थ्यकर्मीको टीम भेरी अस्पतालमा खटाइन लागिएको हो ।

‘सघन उपचारका लागि चिकित्सकको अभाव रहेको जानकारी भेरी अस्पतालका मेसु डा प्रकाश थापाले गराउनुभएको थियो।’ प्रतिष्ठानका निमित्त निर्देशक डा राजिव शाहले भने, ‘त्यहीअनुसार सघन उपचार विभागकै इन्चार्ज गिरीको नेतृत्वमा टोली पठाउने निर्णय गरिएको हो ।’

प्रमुख गिरीसहित डा अरुण श्रेष्ठ, डा हरि न्यौपाने, नर्सहरु सुष्मिता खड्का, तेन्जिङ लामा र प्यारामेडिक्स नरेन्द्र शर्मा भेरी अस्पतालमा जान लागेका हुन् । ‘मौसमले साथ दिए र उडान भए आजै नेपालगन्ज आउने तयारी गरिएको छ । करिब १० देखि १४ दिनसम्म भेरीमा बसेर हामीले बिरामीको उपचार र व्यवस्थापनमा सहयोग गर्नेछौँ,’ डा गिरीले भने ।

सरकारले कोरोना उपचार र व्यवस्थापनका लागि अस्पतालमा टोली बनाएको छ । उक्त टोलीले जहाँ अप्ठ्यारो पर्छ त्यहाँ पुगेर सहयोग गर्नेछ । यो टोली निश्चित समयका लागि परिचालन हुने गरेको छ । भेरी अस्पतालमा जनशक्तिको अभाव हुँदा उपचार व्यवस्थापनमा गाह्रो परेको भन्दै आफ्नो नेतृत्वको टीमले त्यसमा सहयोग र सहजीकरण गर्ने डा गिरीले बताए ।

भेरी अस्पतालमा कोरोना उपचार गर्न सकस भएको खबर बाहिर आउने गरेका छन् । अहिलेसम्म सो अस्पतालका ७३ जनाभन्दा बढी स्वास्थ्यकर्मी सङ्क्रमित छन् । जनशक्ति अभावमा केही स्वास्थ्यकर्मी सङ्क्रमित भएर पनि उपचारमा खटिएको अस्पतालले जनाएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७८, आइतवार ०८:४५