सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

कोरोना महामारीको जोखिममा पत्रकार, के गर्दैछ पत्रकार महासंघ ?

काठमाडौं । घाटमा शव पोलेकोदेखि अस्पतालमा कोरोना संक्रमितको चित्कारका श्रव्य–दृश्य सामाजिक सञ्जालमा भेटिरहेका छन् । नाकादेखि सडक तथा गल्लीसम्मका खबर अपडेट भइरहेका छन् । यतिखेर देशका विभिन्न क्षेत्रमा सरकारले लगाएको निषेधाज्ञा जारी छ । कोरोना जोखिम न्यूनिकरण गर्न घर बाहिर ननिस्कन सरकारले अनुरोध गरिरहेको छ ।

अहिले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारहरू कोरोनाको उच्च जोखिममा रहेका छन् । विशेषगरी सूचना प्रकाशन र प्रसारण गर्न अस्पताल, नाका र घाटमा खटिएका पत्रकारहरू कोरोना संक्रमणको उच्च जोखिममा छन् । कोरोना महामारीको पहिलो चरणमा देशभर करिब ५ सयभन्दा बढी पत्रकार संक्रमित भएका र ७ जना पत्रकारको ज्यान गएको तथ्यांक नेपाल पत्रकार महासंघले सार्वजनिक गरेको छ ।

यो पटक कोरोनाको दोस्रो लहर भर्खर शुरू भएकोले कति पत्रकारहरू संक्रमित भएका छन् भने एकीन तथ्यांक महासंघले प्राप्त गरिसकेको छैन । वैशाख ८ गते कोरोना संक्रमणका कारण दाङका एक पत्रकारको मृत्यु भएको थियो । घोराही उपमहानगरपालिका–१७ निवासी ४१ वर्षीय दामोदर अधिकारीले संक्रमणपश्चात् ज्यान गुमाएका थिए ।

केही हप्ताअघि उनलाई टाइफाइड देखिएको थियो । उपचाररत अधिकारीको पीसीआर जाँच गर्दा चैत २७ गते कोरोना पुष्टि भएको थियो । संक्रमित रहेको थाहा भएपछि उनी राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीको आइसोलेसनमा उपचाररत थिए । श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई उपचार निम्ति काठमाडौँमै ल्याइएको थियो ।

समाचार संकलन गर्दा संक्रमित भई ज्यान गुमाएका अधिकारी एक उदाहरण हुन् । अहिले काठमाडौं उपत्यकालगायत देशका विभिन्न क्षेत्रमा कार्यरत पत्रकारहरू कोरोना संक्रमित भएका घटना सार्वजनिक भइसकेका छन् । उनीहरूमध्ये कतिपय अस्पतालमा उपचाररत रहेका छन् भने कतिपय घरभित्रै आइसोलेसनमा बसिरहेका छन् ।

पत्रकारलाई उपचार गर्न अस्पताल माग

जोखिममा रहेका पत्रकारहरूको छुट्टै उपचारको प्रबन्ध मिलाउन नेपाल पत्रकार महासंघले प्रधानमन्त्रीको निजी सचिवालयसम्म छलफल गरिरहेको महासंघका अध्यक्ष विपुल पोखरेलले जानकारी दिए । ‘अघिल्लोपटक कोरोना संक्रमण भएका पत्रकारहरूबाट पाठ सिक्दै अहिले महासंघले संक्रमित पत्रकारहरूको उपचारका लागि सरकारसँग निश्चित अस्पताल तोकिदिन छलफल गरिरहेको छ,’ उनले भने ।

महासचिव रोशन पुरीको संयोजकत्वमा संक्रमितका लागि आवश्यक औषधीको जोहो गर्न कार्यदल गठन गरिएको पोखरेलले जानकारी दिए । ‘संक्रमितको उपचार निम्ति आवश्यक औषधि, अक्सिजन र ग्यास लगायत अन्य सामग्री उपलब्ध गराउन दाता पहिचान एवम् सहायता संकलन गर्ने काम भइरहेको छ,’ पोखरेलले भने ।

महासंघले कोरोना संक्रमणको चुनौतीपूर्ण अवस्थामा फिल्डमा खटिइरहेका पत्रकारहरूका लागि सुलभ तरिकाले पीसीआर परीक्षण लगायत स्वास्थ्य सामग्री, स्वास्थ्य सुरक्षाका व्यवस्था मिलाउनुका साथै आवश्यक सुरक्षा सामग्रीको व्यवस्था गर्न सकारसँग आग्रह गरेको छ । कोरोना संक्रमण भई उपचार आवश्यक भएका पत्रकारहरूका लागि निःशुल्क उपचार प्रबन्ध मिलाउनसमेत सरकारको ध्यानाकर्षण गराइसकेको अध्यक्ष पोखरेलले जानकारी दिए ।

‘आवास गृह’मा अक्सिजनसहितको आइसोलेसन कक्ष

कोभिड संक्रमित पत्रकारलाई ध्यान दिँदै केन्द्रीय कार्यालय सञ्चारग्रामस्थित ‘आवास गृह’ लाई अक्सिजनसहितको आइसोलेसन कक्ष बनाउने निर्णय गरिसकेको महासंघका महासचिव पुरीले जानकारी दिए । प्राविधिक जनशक्तिसहितको मेडिकल सामग्रीका लागि पहल भइरहेको महासचिव पुरीले जानकारी दिए ।

उनले भने, ‘महासंघले अक्सिजनसहित विभिन्न सामग्री तथा जनशक्तिका लागि सबै संघसंस्था र सरकारसँग आग्रह गरिरहेको छ । ‘पोर्टेबल अक्सिजन मेसिन’ किन्नका लागि पाइने ठाउँका बारेमा जानकारी दिनका लागि पनि अनुरोध पनि गरिएको छ ।’ पुरीले काठमाडौं उपत्यका बाहिर पनि प्रदेश र जिल्ला शाखामार्फत विभिन्न पहल भइरहेको बताए । केन्द्रीय कार्यालयबाट परिपत्र गरिएको उनले जानकारी दिए ।

संक्रमणपश्चात् विश्वभर ११८१ पत्रकारको गुम्यो ज्यान

सन् २०२० पछि ७६ देशका १ हजार १८१ पत्रकारले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन् । स्वीट्जरल्याण्डको प्रेस एम्बेलेम क्याम्पियन (पिइसी)ले एक प्रतिवेदन जारी गर्दै भारतलगायत विश्वका ७६ मुलुकमा पत्रकारले ज्यान गुमाएको जनाएको छ । कोरोना संक्रमणबाट सबैभन्दा बढी ब्राजिलका पत्रकारको मृत्यु भएको छ ।

उक्त प्रतिवेदनका अनुसार ब्राजिलमा कोरोना संक्रमणबाट हालसम्म १८१ र पेरुमा १४० पत्रकारले ज्यान गुमाएको बताइएको छ । यस्तै, भारत तेस्रो स्थानमा रहेको छ । त्यहाँ अहिलेसम्म १०७ जनाले ज्यान गुमाएका छन् । मेक्सिकोमा १०६, इटालीमा ५२, बंगलादेशमा ५१, कोलम्बियामा ४९ र अमेरिकामा ४७ जनाले ज्यान गुमाएका छन् ।

त्यस्तै इक्वेडरमा ४६, बेलायतमा २८, डोमिनिकन रिपब्लिकमा २७, पाकिस्तानमा २५, टर्कीमा २४, इरान र रुसमा २१/२१, अर्जेन्टिना र भेनेजुएलामा १७/१७ पत्रकारले ज्यान गुमाएका छन् । पानामामा १६, स्पेनमा १५, र युक्रेनमा १४ पत्रकारको कोरोना संक्रमणबाट ज्यान गइसकेको छ ।

प्रकाशित मिति : १८ बैशाख २०७८, शनिबार १८:३३