सूचनाको शक्ति - The Power Of Information

        

जनकल्याणमा प्लस टु सञ्चालन गर्न नसकिने

देवी भण्डारी । हापुरे (दाङ) । पश्चिम दाङको हापुरेमा रहेको जनकल्याण माध्यमिक विद्यालयमा हाल प्लस टु सञ्चालन गर्न नसकिने भएको छ । दाङको पश्चिम हापुरेलाई शैक्षिक हब बनाउने उद्देश्यका साथ २०७३ सालमै प्लस टु सञ्चालन गर्ने उद्देश्यले २०७२ सालमा जनकल्याण माध्यमिक विद्यालयमा श्रीमद भागवत ज्ञान महायज्ञ सञ्चालन भएको थियो ।
महायज्ञबाट सबै खर्च कटौती गरी ६ लाख ९५ हजार बचत भएको प्रधानाध्यापक खिमबहादुर केसीले जानकारी दिएका छन् । महायज्ञबाट अपेक्षित रकम संकलन नभए पनि प्लस टु सञ्चालनको तयारीमा रहेको जनकल्याण माध्यमिक विद्यालयलाई जिल्ला शिक्षा कार्यालयले त्यस बर्ष कुनै पनि विद्यालयलाई स्वीकृति नदिकाले सञ्चालन गर्न नसकिएको प्रधानाध्यापक केसीले जानकारी दिए ।
२०७३ मै सञ्चालनको तयारी गरी उच्च माध्यमिक शिक्षा परिषद्मा विद्यालय निरिक्षकमार्फत सबै कागजात पठाएको र शिक्षा परिषद्ले जिल्ला शिक्षा कार्यालय दाङलाई नै त्यसको अनुमति दिएको थियो । जिल्ला शिक्षा कार्यालय दाङले २०७३ सालमा कुनै पनि विद्यालयमा प्लस टु सञ्चालनको लागि अनुमति नदिएको हुँदा ढिलाई भएकोे बताइएको छ ।
२०७३ सालमा अनुमति नपाएको र २०७४ सालमा स्थानीय तहको निवाचन पश्चात सबै अधिकार स्थानीयतहलाई आएको छ । कक्षा १० सम्म सन्चालन गर्न पनि सबै शिक्षकलाई दरबन्दी नहुदा कठिन भइरहेको छ । विगतमा नीजि स्रोतबाट कक्षा १० सम्म सञ्चालन भएको उक्त विद्यालयमा अहिले पनि नीजि स्रोतबाट सञ्चालन भइरहेको केसीले बताए ।
साथै अव प्लस टु सन्चालन नभई प्रत्येक गाउँपालिकाको एउटा विद्यालयमा प्राविधिक शिक्षा सन्चालन सरकारले ल्याएको अवधारणा पुरा गर्न गाउँपालिकासँग छलफल भएको उनले जानकारी दिएका छन् । बृहत सोचका साथ प्राविधिक शिक्षा सञ्चालन गर्ने कुरा गाउँपालिकासँग भएको छ ।
साथै हाल विद्यालयमा भवन जीर्ण भएकाले भवन निमार्णको काम भइरहेको प्रधानाध्यापक खिमबहादुर केसीले जानकारी दिए । २०३६ सालमा स्थापना भएको माध्यामिक विद्यालय प्रावि, निमावि हुँदै हाल कक्षा १० सम्म पढाई हुँदै आएको छ ।

प्रकाशित मिति : २७ माघ २०७४, शनिबार ०७:०९