सूचनाको शक्ति - The Power Of Information

        

कोरोना कहर

बर्दियाको पर्यटन व्यवसाय ठप्प, महामारीले व्यवसायी निराश

बर्दिया । २०७६ चैत्र ११ गते सरकारले देशव्यापी रुपमा लकडाउन गरेसँगै दशैभरको पर्यटन व्यवसाय ठप्प भयो । कोरोनाको महामारी केही मात्रामा कम भएपछि सुरु भएको पर्यटन व्यवसाय फेरी ठप्प बनेको छ । कोरोना महामारी देशव्यापी रुपमा फैलिएसँगै विभिन्न जिल्लाहरुले लकडाउन र निषेधाज्ञा गरिरहेका छन् ।

दोस्रो चरणको लकडाउनले बर्दियाको पर्यटन व्यवसाय फेरी ठप्प बनेको पर्यापर्यटन विकास मञ्चका अध्यक्ष कृष्णप्रसाद भट्टराइले बताए । ‘कोरोना महामारीले नराम्ररी थला परेको पर्यटन व्यवसाय भर्खरै माथि उठ्न लागेको थियो,’ उनले भने, ‘फेरी देशव्यापी फैलँदो कोरोनाको महामारीले पर्यटन व्यवसायीलाई निराश बनाएको छ ।’

कोरोना महामारीका कारण बर्दियाका पर्यटकीय गतिविधहरु बन्द भएका छन् । बर्दिया राष्ट्रिय निकुञ्जले सुचना जारी गरेर अत्यावश्यक बाहेकका सम्पूर्ण सेवाहरु बन्द गरेको जनाएको छ । बर्दिया राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले कोरोना संक्रमण बर्दियामा पनि तिव्र गतिमा बढेसँगै कोरोनाको जोखिमलाई ध्यानमा राखेर अहिलेलाई जिल्लाको आदेश अनुसार बैशाख १९ गतेसम्मलाई बन्द गरिएको बताए ।

त्यसपछि अवस्था हेरेर सञ्चालन गर्ने या नगर्ने भन्ने विषयमा छलफल हुने उनले जानकारी दिए । कोरोनाका कारण गएको वर्ष नराम्ररी थला परेको पर्यटन व्यवसाय फेरी संकटमा रहेको पर्यटन व्यवसायीहरु बताउछन् । लकडाउन खुलेपछि झण्डै ५–६ महिनासम्म पर्यटन गतिविधि राम्रै भयो । पर्यापर्यटन विकास मञ्चका अध्यक्ष भट्टराइले भने, यहि अवस्था रहेको भए राम्रै हुन्थ्यो, तर फेरी पहिलेको जस्तै अवस्था आएकाले थप समस्या सिर्जना गरेको छ ।

लगानी गर्नै डराउने अवस्था आयो

पर्यटकीय क्षेत्र ठाकुरद्वारामा ३० वटा होटेल छन् । पर्यटन गतिविधि ठप्प भएपछि होटेल सञ्चालकहरु मारमा परेका छन् । ऋण लिएर सञ्चालन गरेका होटेल व्यवसाय अहिले कसरी व्याज तिर्ने भन्ने उनीहरुलाई चिन्ता छ । यो सिजन भनेको विशेष गरी विदेशी पर्यटकहरु आउने सिजन हो । विगतका वर्षमा बाह्य पर्यटकहरु बर्दिया निकुञ्ज घुम्न धेरै मात्रामा आउने गर्थे । तर अहिले विदेशी पर्यटक आएनन् ।

पाहुनाहरु नआउँदा बन्दजस्तै बनेका होटेल बेच्नुपर्ने अवस्थामा पुगिसकेको होटेल सञ्चालकहरु बताउछन् । रेफिसेट होटेल सञ्चालन गर्दै आएका पर्यटन व्यवसायी श्रीधर पोखरेलले दोस्रो चरणको लकडाउनले व्यवसायीलाई निराश बनाएको बताए । ‘विस्तारै कोरोनाको महामारी कम हुँदै गएपछि गतिविधिहरु सञ्चालनमा आएका थिए । पर्यापर्यटन विकास मञ्चका सचिवसमेत रहेका पोखरेलले भने, ‘फेरी पहिलेको भन्दा जटिल अवस्था आएकाले अँझ चिन्ता थपिएको छ ।’

महामारी पटकपटक दोहोरिरहेकाले पर्यटन व्यवसायमा लगानी गर्नै डराउने अवस्था आएको उनले सुनाए । कतिपय पर्यटन व्यवसायी व्यवसाय छोडेर पलाएन पनि भएसकेका छन् । तेश्रो मुलुकका पर्यटकहरुमा निर्भर रहेका ठाकुरद्बारा का बढिजसो होटेल व्यवसायीहरु मारमा परेको पोखरेल बताउछन् ।

चोरी तस्करी बढ्न सक्ने चिन्ता

निषेधाज्ञा जारी गरेपछि पर्यटन गतिविधि ठप्प छन् । घरबाहिर रहेका स्थानीयहरु फेरी गाउँ फर्किरहेका छन् । रोजगारी गुमाएर गाउँ फर्किनेहरु फेरी जंगल प्रवेश गर्ने र चोरी तस्करी बढ्नेमा निकुञ्जलाई चिन्ता थपिएको छ । गएको वर्ष लकडाउनको अवधिमा बर्दिया निकुञ्जमा तस्करहरुको बिगबिगी बढेको थियो । निकुञ्जले त्यसलाई रोक्न २४ सै घण्टा निगरानी बढाएको थियो । लकडाउनको मौका छोप्दै बर्दियामा वन्यजन्तु तस्करहरू सलबलाउन थालेका थिए ।

बर्दिया राष्ट्रिय निकुञ्जमा वन्यजन्तु तस्करीमा संलग्नको आरोपमा प्रहरीले केही तस्करलाई पक्राउ पनि गरेको थियो । लकडाउन सुरु भएलगत्तै चैत्र २२ गते नै वन्यजन्तुको तस्करी गरिरहेका १० जना र काठ तस्करीमा लागेका १८ जनालाई निकुञ्जको टोलीले पक्राउ गरेको थियो । अहिले फेरी त्यसको असर वन र वन्यजन्तुमा पर्नसक्ने र फेरी चोरी तस्करी बढ्न सक्ने चुनौती थपिएको छ । ‘पर्यटन गतिविधि त ठप्प भए नै, बर्दिया निकुञ्जका सहायक संरक्षण अधिकृत अशिम कुमार थापाले भने, ‘अर्कोतर्फ तस्करी बढ्ने पनि निकुञ्जलाई चुनौती छ ।’

प्रकाशित मिति : १७ बैशाख २०७८, शुक्रबार ०८:२२