सूचनाको शक्ति - The Power Of Information

        

कोरोनाको दोस्रो लहर

नेपालमा कोरोना सर्ने दर विश्वमै खराब, संक्रमण दर २२८ प्रतिशत

काठमाडौं । अहिले नेपालमा कोरोनाको दोस्रो लहर तीव्र रूपमा फैलिएको छ । पछिल्लो समय नेपालमा कोरोना एक जनाबाट अर्को जनामा सर्ने दर विश्वमै खराब अवस्थामा पुगेको समेत विज्ञहरूले बताइरहेका छन् । पछिल्लो समय कडा लक्षणका संक्रमित भेटिन थालेपछि धेरैलाई अस्पतालमै भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था आएपछि अस्पतालका शैय्याहरू भरिँदै जान थालेका छन् ।

नेपालमा २२८ प्रतिशत संक्रमण दर

डा अर्चना श्रेष्ठका अनुसार पछिल्ला दिनमा नेपालमा संक्रमणदर २२८ प्रतिशतले बढेको छ । उनले अघिल्लो हप्ताको तुलनामा नेपालमा २२८ प्रतिशतले संक्रमण दर बढेको पनि बताएइन् । उनले भनिन्, ‘हाल नेपालको संक्रमण वृद्धि दर विश्वकै उच्च तहमा पुगेको छ, यही तुलनामा संक्रमणदर बढेमा दैनिक १४९ जनासम्म गुमाउनुपर्ने हुनसक्छ ।’

हाल नेपालको संक्रमण र मृत्युदर भारतजस्तै छिटोछिटो बढेपछि अवस्था एकदमै चिन्ताजनक रहेको श्रेष्ठको भनाइ छ । दोस्रो लहरमा देखिएको संक्रमण कडा हुँदा छिटो भर्ना गरेर उपचार गराउनुपर्ने संक्रमित झन् धेरै भएको बताउँछन् डा. शेरबहादुर पुन । उनले भने, ‘यसपटकको संक्रमण कडा खालको देखियो, जसले गर्दा छिटो भर्ना भएर उपचार गराइहाल्नुपर्ने तथा धेरैजसो संक्रमितलाई अक्सिजनको आवश्यकता पर्ने अवस्था छ ।’

गत वर्ष अस्पताल भर्ना हुने धेरै संक्रमित ५० वर्षमाथिका भए पनि यसपटक युवा उमेर समूहकालाई नै भर्ना गरेर उपचार गराउनुपर्ने अवस्थाले गर्दा स्थिति झन् जटिल भएको डा पुनको भनाइ छ । ‘गत वर्ष पनि युवाहरू संक्रमित भएका थिए तर यसरी अस्पतालमै भर्ना गरेर उपचार गर्नुपर्ने अवस्था थिएन, यसपटक भर्ना हुने धेरै यसअघि कुनै पनि रोग नभएका धेरै छन् यो हाम्रो लागि घातक हो ।’

यस्तै, गत वर्ष ढिलो संक्रमण फैलिएको ठाउँमा यसपटक सुरुवाती समयमै संक्रमण तीव्र फैलिएको तथा यसपटकको भाइरसको प्रकृति कडा खालको रहेकोले सबैले सावधानी अपनाउनुपर्ने उनको सुझाव छ । उनले भने, ‘हालसम्मको अवस्था हेर्दा यसपटक हाम्रोमा देखिएको भाइरसको प्रकृति छिटो फैलने र कडा लक्षण भएको देखिन्छ जसले गर्दा एकतिर संक्रमितको संख्या बढ्दै छ भने त्यहीअनुसार अस्पताल भर्ना हुने संख्या पनि बढ्दै गएको छ । यस्तो अवस्थामा जनस्वास्थ्यको मापदण्ड नै कडा रूपमा पालना गर्नुपर्छ ।‘

प्रकाशित मिति : १६ बैशाख २०७८, बिहीबार १६:०१